एमाले मकवानपुर र हेटौंडा नगर कमिटीको अन्तिम लेखापरीक्षण, हरहिसाब व्यवस्थित र पारदर्शी रहेको निष्कर्ष

हेटौंडा, असोज १४ गते । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौंडा उपमहानगरपालिका कमिटीको अन्तिम लेखापरीक्षण सम्पन्न भएको छ। अन्तिम लेखापरीक्षणअघि दुवै कमिटीका लेखा समितिले आन्तरिक लेखापरीक्षण गरेका थिए।

केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराइलीले जिल्ला तथा नगर कमिटीको अन्तिम लेखापरीक्षण गरेका हुन्। लेखापरीक्षणपछि तयार पारिएको प्रतिवेदन केन्द्रीय लेखा आयोगले मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामा र हेटौंडा उपमहानगरपालिका कमिटीका उपाध्यक्ष राजकुमार बाँस्तोलालाई हस्तान्तरण गरेको छ।

प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले पार्टीको केन्द्रीय लेखा आयोगले प्रदेश, जिल्ला तथा पालिका तहसम्मका कमिटीको लेखापरीक्षण गर्ने व्यवस्था रहेको बताइन्। लेखापरीक्षणका क्रममा दोहोरो लेखा प्रणालीअनुसार हरहिसाब व्यवस्थित रूपमा राखिएको, आम्दानीमा पारदर्शिता कायम गरिएको र खर्च मितव्ययी देखिएको उनले बताइन्।

लेखा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन केही सुझावसमेत दिइएको पाख्रिनले बताइन्। लेखापरीक्षणका क्रममा सहयोग गर्ने सबैलाई आयोगका तर्फबाट धन्यवादसमेत दिइएको थियो।

केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मकवानपुर जिल्ला कमिटीले विगतदेखि नै लेखासम्बन्धी नियमअनुसार हरहिसाब व्यवस्थित गर्दै नियमित लेखापरीक्षण गराउँदै आएको बताए। बागमती प्रदेशअन्तर्गतका १० जिल्लामध्ये मकवानपुर र पालिकातर्फ हेटौंडा उपमहानगरपालिकाबाट लेखापरीक्षणको काम सुरु भएको उनले जानकारी दिए।

अन्य जिल्ला तथा पालिका कमिटीहरूको लेखापरीक्षण मंसिर मसान्तसम्म सम्पन्न गर्ने तयारी रहेको सिग्देलले बताए। मकवानपुर जिल्लामा राजनीतिक दलहरूमध्ये आन्तरिक हरहिसाब व्यवस्थित र पारदर्शी रूपमा राख्ने अभ्यासमा एमाले पहिलो रहेको दाबीसमेत उनले गरे।

लेखापरीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेकुमार बर्तौला, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला कमिटी तथा हेटौंडा उपमहानगरपालिका कमिटीका पदाधिकारीलगायतको उपस्थिति थियो।

लेखापरीक्षणमा प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले प्राविधिक सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.