हेटौँडा, असोज १५ गते । उज्यालो नेपाल पार्टीले हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीस्थित लोकतान्त्रिक चोकमा पार्टी कार्यालय स्थापना गरी उद्घाटन गरेको छ। पार्टी कार्यालयको उद्घाटन जिल्ला अध्यक्ष सुरेन्द्र लामा र प्रदेश सदस्य विकास वाइबाले संयुक्त रूपमा गरेका हुन्।

कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश सदस्य वाइवाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक–अर्कालाई दोष लगाउने, हेप्ने वा दबाउनेभन्दा आफू सक्षम बन्ने प्रयास गर्नुपर्ने बताएका छन्।

उनले अरूलाई घोचेर, हेपेर वा दबाएर राजनीतिक उद्देश्य पूरा नहुने उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई जनताको सेवकका रूपमा बुझेर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए। राजनीतिक, आर्थिक र नैतिक पक्षलाई ध्यानमा राख्दै संगठनमा आबद्ध सबैले आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो।
वाइवाले हेटौँडा–१३ मा पार्टी संगठनलाई बलियो बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। पदमपोखरीमा पार्टी कार्यालय स्थापना भए पनि संगठन विस्तार र गतिविधिलाई सिंगो मकवानपुर जिल्लासम्म पुर्याउने लक्ष्य रहेको उनले बताए।
कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले पार्टीमाथि विभिन्न आरोप–प्रत्यारोप हुने गरे पनि पार्टीको सैद्धान्तिक नीति र विचारधारालाई आधार बनाएर अघि बढ्ने बताएका थिए। उनीहरूले संगठनभित्र ठूलो–सानोको भेदभाव नगरी एकताबद्ध भएर आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

यसैगरी, कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले नेपालीहरूको नजिकिँदै गरेका २०८३ सालको वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना सन्देशसमेत व्यक्त गरेका थिए। उनीहरूले चाडपर्वले आपसी सद्भाव, एकता र भाइचारालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका थिए।
कार्यक्रममा हेटौँडा–१२ का वडा कमिटी अध्यक्ष अगमसिंह रुम्बा, नगर अध्यक्ष रमेश श्रेष्ठ, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, जिल्ला उपाध्यक्ष उत्तम गोम्जा, जिल्ला सदस्य तथा हेटौँडा–१३ वडा कमिटीका अध्यक्ष रविन्द्र थिङलगायत पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय अग्रज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन हेटौँडा–१३ वडा कमिटीका सचिव जीवन पाख्रिन तामाङले गरेका थिए भने वडा कमिटीका अध्यक्ष रविन्द्र थिङले समापन गरेका थिए।














