हेटौँडा–१५ को सामुदायिक वनमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, शव परिवारलाई बुझाइयो

हेटौँडा, असोज १७ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। डीएनए परीक्षणबाट मृतकको पहिचान पुष्टि भएपछि प्रहरीले असोज १६ गते उनको शव परिवारलाई बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८३ साउन २२ गते दिउँसो करिब १:३० बजे सामुदायिक वनमा अन्दाजी २२ वर्षीया महिलाको शव फेला परेको थियो। शवको पहिचान खुलाउन प्रहरीले विभिन्न मितिमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मृतकको स्केच, शरीरमा लगाएका कपडा, खुट्टाको औँलामा लगाएको बिछिया, कानको मुन्द्रा, दुवै हातमा लगाएको रातो र हरियो रङका चुरा तथा नाकको फुलीको विवरण सार्वजनिक गरेको थियो।

प्रहरीले सार्वजनिक गरेका विवरणका आधारमा मृतक भारतकी स्थायी बासिन्दा रहेको खुलेको हो। अनुसन्धानका क्रममा उनी भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रुची विवाहित महिला हुन्। उनी २०८३ वैशाख ९ गते भारतको बेतिया, बैरिया थाना क्षेत्रअन्तर्गत सरैया भटवलिया वडा नम्बर ६ स्थित श्रीमानको घरबाट दाँतको उपचार गराउन भन्दै ६ महिनाकी छोरीसहित निस्किएकी थिइन्। त्यसपछि हराएको भन्दै परिवारले भारतको बेतिया प्रहरी थानामा खोजतलासका लागि निवेदन दिएको खुलेको छ।

प्रहरीको अनुसन्धानबाट उक्त महिलाको हत्या भएको र घटनामा राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारको संलग्नता रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतककी आमा फातमा खातुनले २०८३ भदौ ४ गते प्रतिवादी राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा मृतकको डीएनए परीक्षण गर्दा उनको डीएनए आमाको नमुनासँग मेल खाएपछि पहिचान पुष्टि भएको हो। त्यसपछि असोज १६ गते मृतककी आमा फातमा खातुनले प्रहरीबाट शव बुझिलिएकी छन्।

यस घटनासम्बन्धी मुद्दा भारतको नगर थाना बेतियामा समेत दर्ता भएको प्रहरीले जनाएको छ। प्रतिवादी राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमार हाल भारतको बेतिया कारागारमा थुनामा रहेको र उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.