हेटौँडा, असोज १७ गते । श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरले श्रमदान अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा वार्षिक उत्सव तथा विशेष श्रमदान कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीले आइतबार अर्थात भोली बिहान ८ बजे हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा कार्यक्रम आयोजना गर्न लागेको हो।
जिल्लामा श्रमदान अनिवार्य रूपमा सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा नगर कमिटी, गाउँपालिका कमिटी, वडा तथा टोल तहका सम्पूर्ण अगुवा र श्रमदाताहरूलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ।
श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरले जारी गरेको सूचनामा आफ्नो माटोमा पसिना बगाउँदै श्रम संस्कृतिलाई निरन्तरता दिने अभियानको वार्षिक उत्सवलाई सफल बनाउन सबैलाई समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।
श्रमदान अभियानको एक वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमले श्रम संस्कृतिलाई निरन्तरता दिने तथा सामूहिक श्रमदानमा सहभागिता बढाउने उद्देश्य राखेको पार्टीको सूचनामा उल्लेख छ।















