हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेशको आयोजनामा “श्रम कानुन कार्यान्वयनका लागि ट्रेड युनियनको भूमिका” विषयमा बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश समितिको आयोजनामा उक्त अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। अन्तर्क्रिया कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै कार्यक्रमका सभाध्यक्ष तथा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सबै मजदुरहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा समावेश गराउन कानुन निर्माण गर्न आग्रह गरे।
अध्यक्ष नेपालले जिफन्ट सक्रिय हुँदा सरकारले धेरै कुरामा सहजता पाएको हुँदा सरकारले पनि जिफन्टले राखेका जायज मागहरू पूरा गर्नुपर्ने बताए।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले अहिले सञ्चालनमा रहेका रोजगारदाता तथा कलकारखाना संघीय सरकारको मातहतमा रहेको हुँदा प्रदेश सरकार कानुनी रूपमा श्रमिकका जायज मागहरू सुन्ने र संघीय सरकारलाई जानकारी दिने स्पष्ट पारे।
मन्त्री महर्जनले प्रदेश सरकारले कानुनले दिएको अधिकारअनुसार जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताए। उनले श्रमिकको जायज मागहरू संघीय र प्रदेश सरकार मिलेर कानुनी रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, मन्त्री महर्जनले दक्ष बन्न चाहने श्रमिकहरूले मन्त्रालयसँग समन्वय गरेर सम्बन्धित क्षेत्रमा तालिम लिन आग्रह गरे। मन्त्रालयले रोजगारीको क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न विभिन्न तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै जिफन्टका नेताहरूलाई मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे।
जिफन्ट बागमती प्रदेश समिति अध्यक्ष रामहरि नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका मजदुर अगुवाहरूको उपस्थिति रहेको थियो।














