भाद्र २३ को बलिदानपछि नेपालको नेतृत्व कसलाई?—जेन जि युवाको निर्णायक मोडमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख विकल्प

हेटौडा, भदौ २७ गते । नेपालको राजनीतिक इतिहासमा हाल अभूतपूर्व टर्निङ पोइन्ट आएको छ। जेन जि पुस्ताले भाद्र २३ गते गरेको जनआन्दोलनमा २० जनाभन्दा बढीले ज्यान गुमाएपछि देशको नेतृत्व कसलाई दिने भन्ने विषय अहिले प्रमुख बहसको केन्द्रमा छ।

युवापुस्ताको आन्दोलनले पुरानो नेतृत्वप्रति असन्तोष प्रकट गरेको भए पनि अबको दिशानिर्देशन कसले गर्ने भन्ने प्रश्नले आन्दोलनकारीहरूलाई दुई भागमा विभाजित बनाएको छ। कोही धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई अगाडि सार्नुपर्ने पक्षमा छन् भने कोही काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) वा पूर्व विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अघि बढाउनुपर्ने तर्क गर्छन्। अर्को धारले भने पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिनुपर्ने प्रस्ताव अघि सारेको छ।

आन्दोलनपश्चात् देखिएको रस्साकसीबीच काठमाडौंका मेयर बालेनले आफैं नेतृत्वमा नउत्रेर पूर्व प्रधानन्यायाधीश कार्कीलाई समर्थन जनाएपछि जेन जि पुस्तामा थप अन्योलता सिर्जना भएको छ। त्यस्तै, शीतल निवासमा कार्कीलाई कार्यकारी बागडोर दिने विषयमा तीव्र छलफल भइरहेको बताइएको छ। संविधानले पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन मिल्छ वा मिल्दैन भन्ने विषय समेत चर्चामा छ, तर आन्तरिक स्रोतका आधारमा कार्कीलाई नै नेतृत्व दिने निर्णयमा पुगिएको संकेत मिलेको छ।

यसबीच, धरानका मेयर हर्क सम्पाङ भने “नेपालको परिघटना म सम्हाल्न सक्छु” भन्दै काठमाडौँसम्म धाएका छन्। तर जेन जि आन्दोलनको मूल धारा उनको पक्षमा खासै उभिएको देखिँदैन। कतिपय युवाले सम्पाङलाई भावी नेता बन्न सक्ने पात्र भने मानिरहेका छन्, तर हाल नेतृत्व सम्हाल्ने अवस्थामा नरहेको टिप्पणी गरिएको छ।

भाद्र २३ गतेको संघर्षमा ज्यान गुमाएका २० जनाभन्दा बढी युवाको बलिदानलाई स्मरण गर्दै, अब नेतृत्व कसलाई दिने भन्ने विषयमा सजग निर्णय लिनुपर्ने दबाब बढिरहेको छ। राजनीतिक विश्लेषकहरूको भनाइमा, सही पात्र रोज्न नसकिए आन्दोलनको मूल मर्म कमजोर हुन सक्ने सम्भावना रहन्छ। त्यसकारण, युवापुस्ताले निडर, संयमित र दूरदर्शी निर्णयमार्फत देशको सर्वपरिहित हुने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.