भीमफेदी, अशोज २५ गते । भीमफेदी गाउँपालिकामा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’ले आफ्नो सांगठनिक संगठन विस्तार गरेको छ। शनिबार सम्पन्न संगठन विस्तार कार्यक्रममा दिपेन्द्र पुडासैनीलाई संयोजकका रूपमा चयन गरिएको छ भने मदन सिंह सिन्तान र गोविन्द पुडासैनीलाई सल्लाहकारका रूपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ।

पार्टीले पछिल्लो समयमा मकवानपुर जिल्लाभर श्रम, माटो र स्वाभिमानलाई जोड्ने अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ।
“देशको विकास माटो र श्रमसँग जोडिनुपर्छ” भन्ने नारा अघि सार्दै पार्टीले भीमफेदी बजार क्षेत्रमा पार्टीका सदश्यहरुको बिशेष उपस्थितिसँगै सरसफाई अभियान समेत सञ्चालन गरेको छ।
कार्यक्रमका संयोजक दिपेन्द्र पुडासैनीले भने, “हामीले फोहोर मैला व्यवस्थापन र सफा वातावरण सिर्जना गर्ने कार्यलाई श्रम संस्कृतिको पहिलो पाइलाका रूपमा अघि सारेका छौँ।”
आज भएको पार्टी संगठन विस्तार र श्रम अभियानमा पार्टीका केन्द्रीय संस्थापक सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाको पनि उपस्थित रहेको थियो। पार्टीले निकट भविष्यमा मकवानपुरका अन्य पालिकाहरूमा पनि यस्तै अभियान विस्तार गर्ने तयारी गरेको जनाएको छ।














