जिन जि आन्दोलन जायज तर अराजक घुसपेटले वडा जलायो: हेटौंडा–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाको पीडा र दृढता

हेटौंडा, अशोज २९ गते । जिन जि आन्दोलनपछि केही दिन स्थगित रहको हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालय अब पुनः सञ्चालनमा आएको छ। वडाध्यक्ष फुर्बा दोर्जे लामाका अनुसार, कार्यालय २७ गतेदेखि पुनः खुलाइएको हो। कम्प्युटर र उपकरणहरू नष्ट भए पनि सेवाग्राहीलाई लिखित रूपमा सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए।

वडाध्यक्ष लामाले भने, “जेन जि युवा पुस्ताले उठाएका मागहरू जायज हुन्, तर त्यस आन्दोलनको नाममा घुसपेट गरेर अराजक तत्वहरूले तोडफोड र आगजनी गर्नु अत्यन्तै निन्दनीय कार्य हो।”

उनका अनुसार वडा कार्यालयमा भएका क्षतिको दायरा निकै ठूलो छ। उनले बताए, “मेरो व्यक्तिगत ल्यापटप, कागजपत्र, प्रिन्टरदेखि लिएर वडा कार्यालयमा राखिएको स्मार्ट बोर्ड, हेल्प डेस्क, लेखा शाखाका सम्पूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, सचिवको कोठा र स्वास्थ्य कार्यालयसम्म जलाइयो। फुटबल खेलबाट ल्याइएका ट्रफी, माइक चिनो र पुरस्कार कपहरूसमेत तोडफोड गरियो।”

फुर्बा लामाका अनुसार, वडा–१० हेटौंडा उपमहानगरका डिजिटल र पेपरलेस मोडलमा अघि बढिरहेका वडामध्ये पहिलो हो। उनले दुःख व्यक्त गर्दै भने, “यो वडा स्मार्ट बोर्ड र हेल्प डेस्कमार्फत डिजिटल सेवा सञ्चालनमा ल्याएको पहिलो वडा थियो, तर सबै कुरा जलाइयो। त्यसले हाम्रो मेहनत माथि चोट पुर्‍यायो।”

तथापि, उनले जनतालाई सेवा प्रवाहमा कुनै कमी नआएको दाबी गर्दै भने, “हामी दुःखित छौं, तर सेवा रोकेको छैनौं। हाम्रा जनताका काम निरन्तर जारी छन्।”

वडाध्यक्ष लामाले वडा कार्यालय जोगाउने क्रममा सहयोग गर्ने प्रेम भाइलाई पनि विशेष धन्यवाद दिएका छन्। उनले आन्दोलनमा घुसपेट भएकाहरूको प्रमाणका रूपमा सिसिटिभी फुटेजहरू पनि रहेको बताए। “हामीसँग पर्याप्त प्रमाण छन्, जसले देखाउँछ कि आन्दोलनमा अराजक तत्वहरू घुसपेट भएका थिए,” उनले स्पष्ट पारे।

त्यसैगरी उनले भने, “जिन जि आन्दोलनमा युवा पुस्ताको माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नका लागि हो, जुन सही हो। तर सबै जनप्रतिनिधिलाई भ्रष्टाचारी भनेर गाली गर्नु गलत हो। यदि म वा हाम्रो टिमले कसैबाट एक रुपैयाँ पनि कमिसन लिएको प्रमाणित भयो भने, म यसै कार्यालयमा झुन्डिएर मर्न तयार छु।”

वडाध्यक्ष लामाले आफू र आफ्नो टोली निरन्तर जनतामुखी सेवा प्रवाहमा समर्पित रहेको दाबी गरे। “हामी लामो अनुभवका साथ जनताको मन जित्न र सेवा प्रवाह गर्न निरन्तर सक्रिय छौं,” उनले भने।

अन्त्यमा प्रधानमन्त्री सुशिला कार्कीको पाँच दिनमा भ्रष्टाचार अन्त्य गर्ने वचनबारे टिप्पणी गर्दै उनले भने, “डेढ महिना बितिसक्दा पनि मन्त्रीपरिषद गठन हुन सकेको छैन। बोल्न सजिलो छ, तर गर्न कठिन। त्यसैले बोल्नु र गर्नुबीच ठूलो अन्तर छ।”

उनले सबैलाई जिम्मेवार र संयमित हुन आग्रह गर्दै भने, “विरोध गर्नु अघि बुझ्न सिक्नुपर्छ। सही र गलत छुट्याउन सकेनौं भने देश संकटमै रहन्छ। अहिले मिलेर अघि बढ्न जरुरी छ।”

उनका अनुसार, अहिलेको अन्तरिम सरकार स्वच्छ नीतिका साथ अघि बढे मात्र देश स्थायित्वतर्फ जान सक्नेछ। “हामी एमालेले कहिल्यै चुनावबाट डराएका छैनौं, हिजो पनि लडेका थियौं, आज पनि छौं, भोलि पनि रहनेछौं,” उनले आत्मविश्वासका साथ भने।

हेटौंडा–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाको भनाइअनुसार, जिन जि आन्दोलनले सही मुद्दा उठाए पनि त्यसमा अराजक घुसपेटका कारण स्थानीय तहमा विनाशकारी क्षति पुगेको छ। तथापि, उनी जनसेवामा अडिग छन् र भन्छन्— “तोडफोडले हाम्रा उद्देश्य जलाउन सक्दैन।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.