हेटौंडाको डम्पिङ साइट आगलागी उपमहानगरको लापरवाहीको परिणाम: सुनुवाइ नभए घेराउ गर्ने चेतावनी

हेटौंडा, मंसिर २८ गते । हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिँदै आएको आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शिता र असक्षम फोहोर व्यवस्थापन नीतिको प्रत्यक्ष परिणाम भएको भन्दै कडा आलोचना गरिएको छ।

सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा डम्पिङ स्थलमा बारम्बार हुने आगलागीले धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिँदा पनि जिम्मेवार निकाय मौन बस्नु गम्भीर अपराध भएको उल्लेख गरेका छन्।

उनका अनुसार डम्पिङ स्थलमा संकलित फोहोरबाट निस्कने ग्यास तथा प्लास्टिकजन्य पदार्थको खुला आगोका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा दीर्घकालीन क्षति पुगिरहेको छ। श्वासप्रश्वाससम्बन्धी रोग, छाला, आँखा तथा बालबालिका र ज्येष्ठ नागरिकमा जटिल स्वास्थ्य समस्या देखिनु यसको प्रत्यक्ष असर भएको उनको भनाइ छ।

महतले उपमहानगरपालिकाले आजसम्म फोहोर वर्गीकरण (जैविक र अजैविक) को व्यवस्थित व्यवस्थापन गर्न नसक्नु, नियमित अनुगमन तथा आगलागी नियन्त्रण संयन्त्र नबनाउनु र प्रभावित नागरिकप्रति उत्तरदायित्व नदेखाउनु संस्थागत असफलताको प्रमाण भएको दाबी गरेका छन्।

उनले डम्पिङ स्थलमा बारम्बार हुने आगलागीबारे छानबिन समिति गठन गर्न, वैज्ञानिक र दिगो फोहोर व्यवस्थापन प्रणाली लागू गर्न, जैविक फोहोर प्रशोधन (कम्पोस्ट/बायोग्यास) र रिसाइकल प्रक्रिया अनिवार्य तथा प्रभावकारी बनाउन माग गरेका छन्। साथै प्रभावित क्षेत्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्।

यदि यस्ता घटनालाई अझै ‘सामान्य’ भन्दै बेवास्ता गरिए चुप लागेर नबस्ने चेतावनी दिँदै उनले आवश्यक परे हेटौंडा उपमहानगरपालिकालाई घेराउ गर्न पनि पछि नपर्ने स्पष्ट पारेका छन्।

“यो फोहोरमा लागेको आगो होइन, लापरबाही शासन प्रणालीमा लागेको आगो हो,” भन्दै उनले हेटौंडाको स्वच्छ वातावरण, जनस्वास्थ्य र भविष्य सुरक्षित गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.