हेटौंडा, पुस १० गते । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले स्वतन्त्रको नाममा राजनीति गर्नेहरू अन्ततः दलमै फर्कन बाध्य हुने धारणा व्यक्त गरेको छ ।
आफ्नो सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै सिग्देलले दलको विकल्प दल नै हुने तथ्य हालको राजनीतिक गतिविधिले पुष्टि गरिसकेको बताएको हो । उनका अनुसार दल नयाँ वा पुरानो भन्ने विषयभन्दा पनि दर्शन, नीति–कार्यक्रम, नेतृत्वको क्षमता र कार्यशैली नै निर्णायक हुने गर्दछ ।
देशमा विशेष परिस्थितिपछि देखिएको व्यापक राजनीतिक क्रियाकलाप, जनप्रदर्शन तथा महाधिवेशनहरूमा देखिएको जनसहभागिताले नेकपा एमाले नै अब्बल विकल्पका रूपमा स्थापित भएको उनको भनाइ छ । महाधिवेशनको उद्घाटनमा लाखौँ जनसमुदायको उल्लेखनीय उपस्थिति र त्यसबाट निस्किएको निष्कर्षले एमाले बाहेक अरू विकल्प नरहेको तथ्य स्पष्ट भएको सिग्देलको दाबी छ ।
उनले स्वतन्त्रको नाममा राजनीति गर्नेहरू अहिले विभिन्न दल खोज्दै हिँडिरहेको अवस्थाले पनि स्वतन्त्र अभियानको सीमितता उजागर भएको उल्लेख गरेको छ । सिग्देलले स्पष्ट विचार, बलियो संगठन र जनआधारित नेतृत्व भएकै दलले देशलाई निकास दिन सक्ने विश्वास व्यक्त गरेको छ ।














