हेटौँडा, पुस १८ गते । करिब ५० करोड रुपैयाँ सार्वजनिक लगानीमा निर्माण गरिएको हेटौँडा धुलो दूध कारखाना आजसम्म सञ्चालनमा नआउनु स्पष्ट निर्णयहीनता र गम्भीर लापरबाही भएको सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले बताएका छन्।
महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा निर्माण सम्पन्न भई परीक्षण उत्पादन समेत भइसकेको परियोजना वर्षौँसम्म अलपत्र राखिनु करदाताको पैसा माथिको अन्याय र किसान प्रतिको धोका भएको उल्लेख गरेका छन्। मन्त्री फेरिँदा योजना फेरिने तर निर्णय नहुने प्रवृत्तिले प्रदेश सरकारको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको उनको भनाइ छ।
उनले अब पनि धुलो दूध कारखानाको सञ्चालन मोडेल टुंगो नलगाइए यसलाई सार्वजनिक सम्पत्ति माथिको अपराध मान्नु पर्ने चेतावनी दिएका छन्। साथै, कारखाना सञ्चालनका लागि तत्काल, स्पष्ट र समयसीमासहित निर्णय गर्न सरकारसँग माग गरेका छन्।
महतले हालसम्म भएको ढिलाइ, लागत वृद्धि र निर्णयहीनताका लागि जिम्मेवार पदाधिकारीमाथि उत्तरदायित्व निर्धारण गर्नुपर्ने तथा किसान र आमनागरिकलाई झुक्याउने प्रवृत्ति रोक्न सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्।














