शिवम सिमेन्टको प्रदूषणले हेउनपा–१६ र १७ का बासिन्दा पीडित, समाधान नभए आन्दोलनमा जाने चेतावनी

हेटौंडा, माघ १७ गते । हेउँनपा–१६ र १७ का स्थानीय बासिन्दा तथा लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत कलिला बालबालिका शिवम सिमेन्ट उद्योगबाट उत्पन्न धुलो, धुवाँ र ध्वनि प्रदूषणका कारण लामो समयदेखि स्वास्थ्य जोखिममा परिरहेका छन्। यो समस्या नयाँ नभई निरन्तर पीडाका रूपमा रहेको भन्दै स्थानीयले पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

यस विषयमा निरन्तर खबरदारी भएपछि प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको ध्यानाकर्षण भएको छ। यसलाई सकारात्मक संकेतका रूपमा लिँदै उद्योग सञ्चालकले आगामी १५ दिनभित्र सम्बन्धित पक्षसँग छलफलको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।

तर, सामाजिक अभियान्ता तथा स्थानीयवासीले विगतमा पनि यस्तै प्रतिबद्धता आएर कार्यान्वयन नभएको भन्दै यसपटक परिणाममुखी कदम चालिनुपर्नेमा जोड दिएका छन्। “१५ दिनपछि साँच्चिकै धुलो कम हुन्छ कि कागजमै सीमित सहमति दोहोरिन्छ भन्ने प्रश्न अझै यथावत् छ,” उनीहरूको भनाइ छ।

सेवा, सहयोग र आवाजमा सक्रिय सामाजिक अभियान्ता तथा अध्यक्ष विशाल राज महतले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीको उत्तरदायी भूमिकाका लागि धन्यवाद दिँदै यो भूमिका फोटो, फाइल र आश्वासनमै सीमित नहोस् भन्ने स्पष्ट माग राखेका छन्। उनले बालबालिकाको स्वच्छ सास फेर्ने अधिकार सुनिश्चित हुने गरी ठोस कार्यान्वयन हुनुपर्ने बताएका छन्।

स्थानीयका अनुसार जनताको स्वास्थ्य अब केवल ‘छलफलको एजेन्डा’ होइन, ‘कार्यान्वयनको प्राथमिकता’ बन्नुपर्छ। यदि तोकिएको समयभित्र प्रभावकारी समाधान नआए आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.