निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चारकर्मीलाई तटस्थ र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह

हेटौँडा, फागुन १६ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने बताइएको छ। यस सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आम-सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा जनतालाई सु-सूचित गर्ने क्रममा सूचनाको संवेदनशीलता मनन गर्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न जोड दिइएको छ। साथै, महासंघले प्रेस काउन्सिल नेपाल र महासंघद्वारा जारी पत्रकार आचार-संहिता तथा निर्वाचन आयोगको निर्वाचन आचार-संहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत फैलिन सक्ने भ्रामक सूचना, गलत जानकारी तथा घृणात्मक अभिव्यक्तिप्रति सचेत रहँदै तथ्यपूर्ण समाचार मात्र प्रकाशन तथा प्रसारण गर्न महासंघले आग्रह गरेको छ। समाचार संकलनमा महिला, दलित, अल्पसंख्यक र सिमान्तकृत समुदायका आवाजलाई समेत समेट्दै विविधता र समावेशी अभ्यास अपनाउनुपर्नेमा पनि जोड दिइएको छ।

कार्यस्थलमा खटिँदा व्यक्तिगत सुरक्षा र स्वास्थ्यप्रति ध्यान दिन बागमती प्रदेशका सम्पूर्ण सञ्चारकर्मीलाई विशेष सतर्कता अपनाउन महासंघले अनुरोध गरेको छ। महासंघका अध्यक्ष कृष्ण सारु मगरद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई उत्सवका रूपमा सफल बनाउन र नागरिकको मताधिकारको सम्मान गर्न सञ्चार क्षेत्रले पेशागत मर्यादा उच्च राख्दै सन्तुलित र वस्तुनिष्ठ सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.