काठमाडौँ,बैशाख ३ गते । उपसभामुख रुवि कुमारी ठाकुरले हालै आफूले प्राप्त गरेका अधिकांश विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश उल्लेख नभएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। उनले यस अवस्थाले नेपाली समाज अझै पनि दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताएकी छन्।
उनका अनुसार दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो कुप्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने उनको भनाइ छ।
ठाकुरले समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै सानो प्रयासले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने बताइन्। “यदि हामी साँच्चिकै देश विकास र सभ्य समाज निर्माणको कुरा गर्छौं भने परिवर्तनको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्छ,” उनले भनिन्।
उपसभामुख ठाकुरले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन असमर्थ रहने स्पष्ट पार्दै सबैलाई दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरेकी छन्।
साथै, उनले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले सबैलाई दाइजोमुक्त समाज निर्माणका लागि एकजुट भई ठोस कदम चाल्न आह्वान गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।












