काठमाडौँ,बैशाख ३ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा ठूलो सुधार गरिएको छ। अब ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएको २४ घण्टाभित्रै सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था सुरु गरिएको छ।
यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रसँग समन्वय गरी नयाँ प्रणाली लागू गरेको हो। यस प्रणालीअन्तर्गत प्रत्येक दिन साँझ सेवाग्राहीहरूको विवरण (डाटा) संकलन गरी मुद्रण केन्द्रमा पठाइनेछ। त्यसपछि रातभरि लाइसेन्स छपाइ गरी भोलिपल्ट सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
यसअघि लाइसेन्स प्राप्त गर्न लामो समय कुर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, लामो समयदेखि थाँती रहेका करिब २९ लाख पुराना बक्यौता लाइसेन्सहरू पनि आगामी केही महिनाभित्र छापिसक्ने सरकारको योजना रहेको छ। ती लाइसेन्सहरू हुलाकमार्फत सेवाग्राहीको घरघरमै पुर्याउने तयारी समेत गरिएको जनाइएको छ।
सरकारको यो पहलले सेवाग्राहीको समय बचत हुनुका साथै सार्वजनिक सेवा प्रवाहमा सुधार आउने विश्वास गरिएको छ।












