भिमफेदी गाउँपालिका,बैशाख ५ गते । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत क्षेत्रमा शनिबार साँझ सुमो र भारतीय स्कार्पियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा भएको उक्त दुर्घटनाले केही समय आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भिमफेदीका अनुसार साँझ करिब ६ बजेतिर काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ एजेट २५१७ नम्बरको भारतीय स्कार्पियोले ठक्कर दिएको हो। ठक्करपछि नियन्त्रण गुमाउँदा दुवै सवारीसाधन सडकमै पल्टिएका थिए।
दुर्घटनामा घाइते भएका ९ जनालाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। सडकमा ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा यस्ता दुर्घटना बढिरहेको भन्दै ट्राफिक नियमको पालना गर्नसमेत आग्रह गरिएको छ।














