हेटौँडा,बैशाख १४ गते । जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारीले डेरी उद्योगहरूलाई किसानहरूको बाँकी भुक्तानी तत्काल गर्न कडा निर्देशन दिएका छन्। लामो समयदेखि भुक्तानी रोकिएको गुनासो बढ्दै गएपछि प्रशासनले हस्तक्षेप गर्दै चाँडो रकम नतिरे कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएको हो।
विशेषगरी साना किसानहरू दैनिक २–३ लिटर दूध बेचेर जीविको पार्जन गरिरहेका अवस्थामा उनीहरूको आय नै प्रभावित भएको छ। तर, डेरी उद्योगहरूले भने महिनौँदेखि भुक्तानी रोकेर किसानलाई थप समस्यामा पारेका छन्। प्रशासनका अनुसार गायत्री डेरी र शुभ डेरीले मात्रै करिब ११ करोड रुपैयाँ बराबरको रकम अझै तिर्न बाँकी रहेको छ।
यसैबीच, सहकारी संघले असार मसान्तसम्म कम्तीमा ६५ प्रतिशत बक्यौता भुक्तानी गर्न निर्देशन दिएको छ। उक्त समयसीमा भित्र भुक्तानी नभए प्रशासनले कडा कदम चाल्ने स्पष्ट संकेत दिएको छ।
प्रशासनको यो चेतावनीपछि किसानहरूमा केही आशा जागेको छ भने डेरी उद्योगहरूलाई समयमै जिम्मेवारी पूरा गर्न दबाब बढेको छ।














