काठमाडौं,बैशाख १६ गते । लामो समयदेखि थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा सुधार देखिएको छ। ट्रायल पास गरी नवीकरणका लागि राजस्व बुझाएका पुराना सेवाग्राही मध्ये २९ लाख लाइसेन्स मध्ये हालसम्म १२ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको छ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत १२ कात्तिकमा भएको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख स्मार्ट लाइसेन्स छपाइ गरिएको हो। यसले लामो समयदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई केही राहत पुगेको विभागले जनाएको छ।
त्यसैगरी, दोस्रो चरणअन्तर्गत ४ वैशाखमा गरिएको अर्को सम्झौताअनुसार थप १७ लाख स्मार्ट लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाइएको छ। सुरक्षण मुद्रण केन्द्र हाल उक्त कामको तयारीमा जुटेको छ।
विभागका अनुसार छपाइ कार्य तीव्र पारिएसँगै बाँकी लाइसेन्स पनि क्रमशः वितरण गरिनेछ। यसले सेवाग्राहीको लामो प्रतीक्षा अन्त्य हुने अपेक्षा गरिएको छ।














