हेटौंडा–४ मा सडक, पेटी र ढल निर्माणका लागि १ करोड ३५ लाखको योजना अघि बढ्यो

हेटौँडा, भदौ ११ गते । हेटौंडा उपमहानगरपालिका–४ मा सडक, सडकपेटी तथा ढल निर्माणका लागि बागमती प्रदेश सरकारको पूर्वाधार कार्यालयमार्फत करिब १ करोड ३५ लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माण योजना अघि बढाइएको छ।

हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलका अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड १७ लाख रुपैयाँ बराबरको लागतमा बोलपत्र आह्वान गरिएको हो। म्याटसहित कुल लागत करिब १ करोड ३५ लाख रुपैयाँ बराबर हुने जनाइएको छ।

योजनाअन्तर्गत वडाका विभिन्न क्षेत्रका सडक तथा ढल संरचनालाई प्राथमिकतामा राखिएको छ। लक्ष्मी टोलअन्तर्गतका भित्री सडकहरूमा ढल निर्माण गरिनेछ भने गर्दाेही क्षेत्रका भित्री सडकहरूको स्तरीकरण गरिनेछ।

त्यसैगरी बुद्धपथबाट गुम्बा जाने सडक स्तरीकरण, कमलडाँडा क्षेत्रका विभिन्न भित्री सडकको स्तरीकरण तथा लाङ्गाली चोकदेखि भुवनेश्वर पथसम्म सडकपेटी निर्माण गर्ने योजना रहेको वडाध्यक्ष सिग्देलले जानकारी दिएका छन्।

स्थानीय सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास र पैदलयात्रीका लागि सुरक्षित सडकपेटी निर्माणले वडाको पूर्वाधार विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल मार्फत योजना सार्वजनिक गर्दै वडा विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.