हेटौंडामा बजाजका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक, चेतक सी २५०१ र सी ३५०३ बजारमा

हेटौंडा, भदौ ८ गते । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी २५०१ र चेतक सी ३५०३ सार्वजनिक गरेको छ।

बजाज अटो लिमिटेडले नेपालमा बजाजका दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा हेटौंडास्थित होराइजन अटो प्रालिमा सोमबार आयोजित कार्यक्रममा दुवै मोडल सार्वजनिक गरेको हो। नयाँ मोडलले नेपालमा दिगो, आकर्षक र उत्कृष्ट प्रदर्शनयुक्त विद्युतीय सहरी यातायातको विकल्प विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ।

व्यक्तिगत ऊर्जा, सहजता र सहरी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको चेतक सी २५०१ पूर्ण मेटल बडीसहित उपलब्ध छ। २.५ किलोवाट आवरको लिथियम–आयन ब्याट्रीबाट सञ्चालित यस स्कुटरले प्रमाणित IDC अनुसार एकपटकको चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने फास्ट चार्जिङमार्फत ० देखि ८० प्रतिशतसम्म ब्याट्री करिब २ घण्टा २५ मिनेटमा चार्ज गर्न सकिन्छ।

सी २५०१ मा भाइब्रेन्ट कलर एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले, पञ्च कन्ट्रोल, रिभर्स मोड र २५ लिटरको अन्डर–सिट स्टोरेजजस्ता सुविधा रहेका छन्। यो ग्लासी एक्टिभ ब्ल्याक, ओपल सेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल म्याट र मिस्टी यल्लो गरी विभिन्न रङमा उपलब्ध छ। यसको मूल्य रु. २ लाख ८१ हजार ८०० तोकिएको छ।

त्यस्तै, चेतक सी ३५०३ मा क्लासिक रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ। पूर्ण मेटल बडीमा तयार गरिएको यो स्कुटर नेपालको विविध भूगोल तथा बदलिँदो मौसममा सहज रूपमा सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको कम्पनीको भनाइ छ।

३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्रीबाट सञ्चालित सी ३५०३ ले प्रमाणित IDC अनुसार एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्दछ।

यसमा क्लियर डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा मेसेज अलर्ट र ३५ लिटरको फराकिलो अन्डर–सिट स्टोरेज उपलब्ध छ। घोडाको नालजस्तो आकारको क्लासिक डीआरएल हेडलाम्पले मौलिक चेतकको डिजाइनलाई आधुनिक शैलीसँग जोडेको छ। सी ३५०३ इन्डिगो मेटालिक, रुपलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध छ। यसको मूल्य रु. ३ लाख ३९ हजार ८०० तोकिएको छ।

लन्च कार्यक्रममा हंशराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका महाप्रबन्धक रामेश्वर घिमिरेले चेतकको नयाँ मोडल थपिएसँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताए। गत वर्ष सार्वजनिक गरिएको चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि नयाँ दुई मोडलमार्फत अझ फराकिलो ग्राहक वर्गको आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

कार्यक्रममा होराइजन अटो प्रालिका प्रबन्ध निर्देशक रञ्जु रत्नाचार्यले सहभागी, अतिथि, आयोजक तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

कम्पनीका अनुसार चेतक सी २५०१ र सी ३५०३ दुवै मोडल नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि उपलब्ध छन्। विद्युतीय सवारीका ग्राहकलाई सहज र भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न बजाज नेपालले आफ्नो सेवा सञ्जालमार्फत निरन्तर सेवा उपलब्ध गराउने जनाएको छ।

हंशराज हुलासचन्द एण्ड कम्पनी लिमिटेड दशकौंदेखि नेपालमा अटोमोटिभ क्षेत्रमा सक्रिय रहँदै आएको कम्पनी हो। बजाज अटो लिमिटेड भने आधुनिक इन्जिनियरिङ, मजबुत प्रविधि तथा स्वच्छ मोबिलिटी समाधानका लागि विश्वभर परिचित दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन निर्माता कम्पनीका रूपमा स्थापित छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.