मकवानपुरगढी, भदौ ४ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडाको घुम्तीमा होमपाईप बोकेको ट्रक दुर्घटनामा परेको छ। बिहीबार बिहान करिब ७ बजे कान्तिलोकपथ सडकखण्डमा ना.१ क ८५३६ नम्बरको ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटको चन्द्रपुरबाट तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत महादेवटारतर्फ होमपाईप लोड गरेर जाँदै गरेको ट्रक ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट भिरमा खसेको हो।
दुर्घटनाका क्रममा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी ३६ वर्षीय धनबहादुर विकले ट्रकबाट हामफालेर आफ्नो ज्यान जोगाएका छन्। ट्रकमा चालक विक मात्रै सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट जितपुर भञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा परेको ट्रक भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।














