हेटौंडा, भदौ २ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले समाजमा केही व्यक्तिले मात्र काम गर्ने र धेरैले त्यसको विरोध गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै ‘थोरैको कमाइमा धेरैले खाने परिवार’ र ‘थोरैले काम गर्ने, धेरैले विरोध मात्र गर्ने समाज’ उस्तै–उस्तै रहेको टिप्पणी गरेका छन्।
उनले आफूहरूबीच कसैलाई हराउने वा कसैलाई उछिन्ने प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै उत्कृष्ट कार्य गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताएका छन्।
“हामीले कसैलाई हराउनु छैन, कसैलाई उछिन्नु पनि छैन,” उनले लेखेका छन्, “बस ! एउटै छ, उत्कृष्ट कार्य गर्नुछ। हाम्रो वडा बनाउनु छ। हाम्रो नगर बनाउनु छ।”
वडाध्यक्ष सिग्देलको उक्त अभिव्यक्तिले व्यक्तिगत प्रतिस्पर्धाभन्दा विकास र उत्कृष्ट कार्यलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको देखिन्छ। उनले आफ्नो कार्यक्षेत्रलाई अझ व्यवस्थित, समृद्ध र उदाहरणीय बनाउने उद्देश्यसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।














