हेटौँडामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, एक सकुशल भेटिइन्; दुई अझै बेपत्ता

बस्तीपुर,भदौ २ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार बालिका विद्यालयबाट घर फर्किने क्रममा वासुदेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना सकुशल फेला परेकी छिन्। दुई बालिका भने अझै बेपत्ता छन्।

विद्यालयबाट घर फर्किने क्रममा हेटौँडा–१९ वासुदेवस्थित वासुदेव खोला तर्ने क्रममा चार बालिकालाई खोलाले बगाएको जानकारी पाएपछि विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार हेटौँडा–१९ बस्तीपुर निवासी दीप स्याङ्ताङकी अन्दाजी ८ वर्षीया छोरी रोशनीको शव घटनास्थलबाट करिब ६ सय मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको हो।

त्यस्तै, स्थानीय सीताराम भ्लोनकी १३ वर्षीया छोरी सीमा भ्लोन सकुशल फेला परेकी छिन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ११ वर्षीया सुमित्रा भ्लोन र १२ वर्षीया विनिता भ्लोन भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवार पानीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप खोजी तथा उद्धारका लागि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ।

बेपत्ता बालिकाहरूको खोजीका लागि सुरक्षा निकाय तथा स्थानीयवासीले सम्भावित क्षेत्रमा खोजी गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.