सरसफाइमा बजेट होइन, युवाको शक्ति लगानी गरौँ : विशालराज महत

हेटौडा, साउन २३ गते । हेटौँडा उपमहानगरपालिकाले अघि बढाइरहेको ‘जिरो वेस्ट हेटौँडा’ अभियानलाई दिगो र आत्मनिर्भर बनाउन सरसफाइमा मात्रै बजेट खर्च गर्नेभन्दा युवाको शक्ति र सहभागितालाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने सुझाव दिइएको छ।

‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अवधारणा सार्वजनिक गर्दै फोहोरलाई खर्चको विषय नभई आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका हुन्।

महतले हरेक वडामा रहेका युवा क्लबलाई सक्रिय बनाएर ‘युवा स्वच्छता–उद्यम कार्यक्रम’ सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्। उनका अनुसार प्रत्येक युवा क्लबले कम्तीमा १५ दिनमा एकपटक वडा सरसफाइ अभियान सञ्चालन गर्ने र सरसफाइका क्रममा संकलन हुने प्लास्टिक, कागज, फलाम, बोतल, कार्टुनलगायत पुनःप्रयोगयोग्य सामग्री छुट्टाछुट्टै संकलन गर्न सकिनेछ।

त्यसका लागि प्रत्येक वडामा युवा क्लबको नेतृत्वमा ‘फोहोर संकलन तथा पुनःप्रयोग केन्द्र’ स्थापना गर्नुपर्ने उनको सुझाव छ। संकलित सामग्री बिक्रीबाट प्राप्त रकमलाई युवा क्लबको आम्दानीको स्रोत बनाउँदै स्थानीय युवाको रोजगारी तथा सामाजिक काममा परिचालन गर्न सकिने महतले उल्लेख गरेका छन्।

उनले घरबाटै फोहोर छुट्याउने संस्कार विकास गर्नुपर्नेमा पनि जोड दिएका छन्। घरमा उत्पादन हुने प्लास्टिक, कागज, कार्टुन, बोतल, फलामलगायत कबाडी सामग्री छुट्याएर राख्ने र युवा क्लबले महिनामा दुईपटक घरघरमा पुगेर त्यस्ता सामग्री संकलन गर्ने व्यवस्था गर्न सकिने उनको प्रस्ताव छ।

महतका अनुसार संकलित सामग्री तौलका आधारमा व्यवस्थापन गरी बिक्री गर्न सकिन्छ। त्यसबाट प्राप्त आम्दानीको निश्चित हिस्सा ‘युवा स्वच्छता तथा उद्यम कोष’मा राखेर उपकरण खरिद, सक्रिय युवालाई प्रोत्साहन, सीपमूलक तालिम, थप रोजगारी सिर्जना तथा वातावरणीय गतिविधिमा लगानी गर्न सकिनेछ।

हाल घरघरबाट कबाडी सामग्री संकलन गर्दै आएका निजी व्यवसायीलाई एकैपटक विस्थापित गर्नुभन्दा व्यवस्थित र पारदर्शी प्रणालीमा ल्याएर स्थानीय युवासँग सहकार्य गर्नुपर्ने उनको धारणा छ। युवा क्लबले संकलन केन्द्र सञ्चालन गर्ने र निजी उद्योग तथा रिसाइक्लिङ कम्पनीसँग सहकार्य गरी संकलित सामग्री बिक्री गर्न सकिने उनले बताएका छन्।

उनले योजनालाई क्रमशः पुनःप्रशोधन उद्योगसम्म पुर्‍याउन सकिने सम्भावना पनि औँल्याएका छन्। सुरुवातमा प्लास्टिक र कागज संकलन तथा बिक्री गर्ने, त्यसपछि वर्गीकरण र भण्डारण गर्ने र आम्दानी तथा आवश्यक लगानी बढ्दै गएपछि प्लास्टिक पुनःप्रशोधन गरी प्लास्टिक दाना उत्पादन गर्ने वा पुनःप्रयोगयोग्य सामग्री बनाउने उद्योग स्थापना गर्न सकिने उनको प्रस्ताव छ।

महतले सरसफाइ अभियानलाई युवाको रोजगारी र उद्यमसँग जोड्न सके लागूऔषध दुरुपयोग, अपराध तथा अन्य सामाजिक विकृति न्यूनीकरणमा समेत सकारात्मक योगदान पुग्ने बताएका छन्। युवा क्लबलाई वर्षमा एक–दुईवटा कार्यक्रम गर्ने संस्थाका रूपमा मात्र नभई सामाजिक उद्यम र स्थानीय रोजगारी सिर्जना गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।

उनका अनुसार उपमहानगरपालिकाले सुरुवाती चरणमा तालिम, उपकरण, तौल मेसिन, संकलन केन्द्र तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्छ। त्यसपछि संकलित सामग्रीबाट हुने आम्दानीमार्फत अभियानलाई क्रमशः आत्मनिर्भर बनाउन सकिनेछ।

‘नगरपालिकाले पैसा हालिरहने, युवा काम गरिरहने र फोहोर बढिरहने’ परम्परागत मोडेलभन्दा ‘नगरपालिकाले सुरुवातमा प्रणाली बनाउने, युवाले सञ्चालन गर्ने र फोहोरबाट आएको आम्दानीले प्रणाली आफैँ चल्ने’ मोडेल आवश्यक रहेको महतले बताएका छन्।

उनले हेटौँडाको ‘जिरो वेस्ट’ अभियानको अन्तिम लक्ष्य केवल वडा सफा बनाउनु नभई फोहोरलाई स्रोत, युवालाई उद्यमी र वडालाई आर्थिक रूपमा सक्रिय बनाउनु हुनुपर्ने बताएका छन्।

महतले ‘सरसफाइमा पैसा खर्च गर्ने कि फोहोरबाट पैसा कमाउने प्रणाली बनाउने?’ भन्ने प्रश्न गर्दै अब योजना मात्र नभई कार्यान्वयनको इच्छाशक्ति आवश्यक रहेको बताएका छन्।

उनको प्रस्तावमा हरेक वडामा सक्रिय युवा क्लब, १५ दिनमा वडा सरसफाइ, घरघरबाट छुट्याइएको पुनःप्रयोगयोग्य सामग्रीको संकलन, वडास्तरीय संकलन केन्द्र, पारदर्शी बिक्री प्रणाली हुँदै क्रमशः रिसाइक्लिङ उद्योगतर्फ अघि बढ्ने अवधारणा समेटिएको छ।

महतका अनुसार यस्तो प्रणाली कार्यान्वयन गर्न सके ‘जिरो वेस्ट हेटौँडा’ खर्चिलो सरसफाइ कार्यक्रमबाट आत्मनिर्भर अभियानमा रूपान्तरण हुन सक्छ।

उनले अन्ततः ‘सफा वडा, सक्रिय युवा, फोहोरबाट आम्दानी’लाई दिगो ‘जिरो वेस्ट हेटौँडा’को बाटोका रूपमा अघि सारेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.