मनहरी, भदौ २० गते । पछिल्लो समय जन्मदिन मनाउने क्रममा केक काट्ने, पार्टी आयोजना गर्ने र विभिन्न किसिमका खर्च गर्ने चलन बढिरहेका बेला मकवानपुरका क्रियाशील पत्रकार सूर्य गोलेले भने आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोडेर फरक शैलीमा मनाएका छन्।

राप्ती खबर अनलाइन डटकममा क्रियाशील पत्रकार गोलेले आफ्नो जन्मदिनको अवसरमा मनहरी गाउँपालिका–२ सर्सिधाप निवासी १९८४ सालमा जन्मिएका मानबहादुर रुम्बालाई सम्मान गरेका हुन्। रुम्बालाई दोसल्ला ओढाएर सम्मान गर्दै फलफूल, आवश्यक थर्मस तथा लड्डु प्रदान गर्नुका साथै नगद ४ हजार रुपैयाँ समेत सहयोग गरिएको थियो।
२०५४ साल भदौ २० गते जन्मिएका गोलीले हरेक वर्ष जन्मदिन मनाउँदा हुने खर्चलाई यसपटक सामाजिक कार्यमा लगाउने निर्णय गरेको बताए। उनले जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसर नबनाई समुदायमा सकारात्मक सन्देश दिने उद्देश्यले ज्येष्ठ नागरिक सम्मानलाई रोजेको बताए।

“प्रायः मानिसहरूले जन्मदिनमा केक काटेर पार्टी आयोजना गर्दै खर्च गर्ने गर्छन्। मैले यसपटक त्यो शैलीभन्दा अलि फरक ढंगले सोचेर आफ्नै वडामा रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको हुँ,” गोलेले उपस्थित पत्रकार तथा स्थानीयसँग भने।
आफ्नो क्षमताअनुसार सानो प्रयासबाट सामाजिक सेवामा जोडिन सकिने र यस्ता कार्यबाट अन्य युवालाई पनि प्रेरणा मिलोस् भन्ने आफ्नो उद्देश्य रहेको उनले बताए। जन्मदिनका अवसरमा गरिने खर्चलाई सामाजिक कार्यमा प्रयोग गर्न सके समुदायमा सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ छ।

“ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै मेरो सानो प्रयासबाट सामाजिक सेवामा जोडिन प्रेरणा मिलोस् र अन्य व्यक्तिहरूले पनि यस्तै उदाहरणीय काम गर्न सकून् भन्ने सन्देश दिन चाहेको हुँ,” गोलेले बताए।

गोलेका अनुसार जन्मदिन कसरी मनाउने भन्ने विषयमा सोचिरहेका बेला साथीभाइसँगको छलफल र आफूले केही फरक गर्ने चाहनाअनुसार आफ्नै वडाभित्र रहेका ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने निर्णयमा पुगेका हुन्।

कार्यक्रममा मनहरी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार पाख्रिन, स्थानीय बुद्धिजीवी तथा युवाहरूका साथै हेटौँडाबाट पुगेका पत्रकारहरूको समेत उपस्थिति थियो।

कार्यक्रममा वडाध्यक्ष पाख्रिनले गोलेलाई जन्मदिनको शुभकामना दिँदै जन्मदिनलाई ज्येष्ठ नागरिक सम्मानसँग जोड्नु सकारात्मक र अनुकरणीय कार्य भएको बताए।
उनले युवापुस्ताले यस्ता गतिविधिलाई निरन्तरता दिन सके ज्येष्ठ नागरिकप्रतिको सामाजिक दृष्टिकोण अझ सकारात्मक बन्ने धारणा राखे। “ज्येष्ठ नागरिकलाई सम्मान गर्नु उहाँहरूको आशीर्वाद प्राप्त गर्नु सरह हो,” पाख्रिनले भने।
ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै पाख्रिनले उनीहरूको सम्मान, संरक्षण र सहयोगमा परिवार तथा समुदायले समेत भूमिका खेल्नुपर्ने बताए। यस्ता गतिविधिले पुस्ताबीचको सम्बन्ध मजबुत बनाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो।
गोलेले आगामी दिनमा पनि आवश्यकताका आधारमा सामाजिक कार्यमा जोडिने प्रतिबद्धता जनाउँदै आफ्नै वडा तथा समुदाय केन्द्रित भएर अन्य व्यक्ति र युवाहरूले पनि उदाहरणीय काम गर्न सक्ने बताए।














