न्वागी पर्वमा तडकभडक नगर्न कैलाश गाउँपालिकाको आग्रह, दुई दिन सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने

कैलाश गाउँपालिका, भदौ १७ गते । कैलाश गाउँपालिकाले चेपाङ समुदायको महान् सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा शुभकामना व्यक्त गर्दै यस वर्ष विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गरी पर्वमा तडकभडक नगर्न आग्रह गरेको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानद्वारा जारी शुभकामना तथा सूचनामा गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

प्रकृति पूजक तथा अति सीमान्तकृत चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको न्वागीको अवसरमा स्वदेश तथा विदेशमा रहेका चेपाङ समुदायका दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण कैलाशवासीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गाउँपालिकाले दिएको छ।

सूचनामा चेपाङ समुदायले परम्परागत रूपमा नयाँ खाद्यान्न तथा प्राकृतिक वनस्पति घरमा भित्र्याई पूजा गर्ने, ढ्याङ्ग्रो बजाउने तथा पितृ पूजा गरी नयाँ खाद्यान्न र प्रसाद ग्रहण गर्दै आफन्तजनसँग पर्व मनाउने परम्परा रहेको उल्लेख गरिएको छ। यस्ता धार्मिक तथा सांस्कृतिक पर्वले समुदायको मौलिक पहिचानलाई संरक्षण गर्नुका साथै सामाजिक सद्भाव, सहिष्णुता, एकता र भ्रातृत्व कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको विश्वास छ।

तर यसपटक बाढी तथा विपद्का कारण धेरै नागरिक प्रभावित भएकाले पर्व मनाउँदा विशेष संवेदनशीलता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ। न्वागीको सांस्कृतिक तथा परम्परागत पक्षलाई निरन्तरता दिँदै तडकभडक, खुला तथा ठूलो आवाजमा हुने कन्सर्ट र महोत्सव नगर्न गाउँपालिकाले अनुरोध गरेको हो।

विपद्बाट प्रभावित नागरिक तथा परिवारजनप्रति सहानुभूति र संवेदना प्रकट गर्दै परिवार तथा आफन्तसँग सरल र शान्त रूपमा पर्व मनाउन गाउँपालिकाले सबैमा आग्रह गरेको छ।

यसैबीच, न्वागी पर्वको अवसरमा २०८३ भदौ २२ र २३ गते दुई दिन कैलाश गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले न्वागी पर्वले बन्धुत्व, प्रेम र समानताको भावना अझ बलियो बनाउँदै शान्त, समुन्नत तथा समृद्ध कैलाश निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.