हेटौंडा, भदौ १७ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले भैरवरोडमा वर्षायाममा देखिँदै आएको डुबान समस्या समाधानका लागि वडा र प्राविधिक टोलीको प्रयास जारी रहेको बताएका छन्।

वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत भैरवरोडको डुबानको मुख्य कारणमध्ये पुरानो भूमिगत ढलमा देखिएको समस्या रहेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि विशेष योजना आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार २०६६/०६७ तिर निर्माण गरिएको भूमिगत ढल भासिँदै जाँदा हेटौंडाका विभिन्न क्षेत्रमा समस्या देखिँदै आएको छ। कान्तिराजपथमा समेत ढल भासिएपछि तत्काल मर्मत भइरहेको तथा स्कुलरोड र भैरवरोडमा पटक–पटक सडक भासिने र मर्मत गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।

सडकमा कंक्रिट ढलान गरिएपछि भासिएको समस्या बाहिरबाट स्पष्ट नदेखिए पनि भैरवरोडमा वर्षायाममा हुने डुबानको दीर्घकालीन समाधान खोज्ने क्रममा करिब चार महिनाअघि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरिएको सिग्देलले बताएका छन्। अध्ययनका क्रममा चिसापानी चोकमा ढलको ढकन खोलेर हेर्दा चेम्बर नै भासिएको पाइएको थियो।
यसका कारण हेटौंडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर क्षेत्रमा निर्माण भएको भूमिगत ढलको निकास समेत अवरुद्ध भएको जनाइएको छ। भैरवरोड आफैंमा वर्षायाममा डुबान हुने क्षेत्र रहेकामा पानी निकासको मुख्य संरचना नै अवरुद्ध भएपछि समस्या थप जटिल बनेको वडाध्यक्ष सिग्देलको भनाइ छ।
समस्या समाधानका लागि चिसापानी चोकमा कंक्रिट ढलान फोरेर भूमिगत ढलको निर्माण तथा मर्मत कार्य सुरु गरिएको छ। तर, सबै ढलबाट आउने पानी र वर्षाका कारण हुने डुबानका कारण निर्माण तथा मर्मतको काम अपेक्षाअनुसार अगाडि बढाउन कठिनाइ भइरहेको उनले बताएका छन्।
भैरवरोडमा मात्र नभई अन्य स्थानबाट वर्षाको पानीको निकास व्यवस्थापनका लागि समेत आवश्यक काम अघि बढाइने सिग्देलले उल्लेख गरेका छन्।
वडाध्यक्ष सिग्देलले समस्या समाधानका लागि भइरहेको प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्। साथै भूमिगत ढलका कारण देखिँदै आएका समस्याको दीर्घकालीन समाधानका लागि हेटौंडा उपमहानगरपालिकाले विज्ञको सहयोग लिएर विशेष योजना बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।














