रसुवा बाढीपीडितका लागि राहत संकलनमा साथ दिन मनहरी गाउँपालिकाको अपिल

मनहरी, भदौ १७ गते । मनहरी गाउँपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका गैरसरकारी संस्था तथा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूसँग वार्षिक समीक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया गरेको छ ।

बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा गैरसरकारी तथा सरोकारवाला संस्थाहरूले सञ्चालन गरेका कार्यक्रम र गतिविधिको समीक्षा गरिएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाले रसुवामा भाद्र १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन गरिरहेको राहत संकलन अभियानमा सहयोग गर्न सबै संघसंस्था तथा सरोकारवालालाई अपिलसमेत गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रन्जन कालाखेतीले पालिकाको नेतृत्वमा रसुवा बाढीपीडितलाई लक्षित गरी राहत संकलन भइरहेको जानकारी दिँदै मानवीय सहयोगको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे । उनले आ–आफ्नो क्षेत्रबाट सक्दो राहत सामग्री तथा सहयोग उपलब्ध गराउन संघसंस्था र सरोकारवालालाई अपिल गरे ।

कालाखेतीले मनहरी गाउँपालिकाको चौतर्फी विकासमा विभिन्न संघसंस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि पालिकाले संघसंस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आवश्यक कार्यक्रममा अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मनहरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि विभिन्न गैरसरकारी संघसंस्थाले शिक्षा, बालबालिका, सामाजिक विकासलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । कार्यक्रममा हिमराइट्स, कोक्याप, बालकल्याण समाज, ३ एन्जल्स, टुकी फाउन्डेसन, छोराछोरी नेपाल, बाल हेल्पलाइन–सिविन नेपाल, रेष्ट, सोचाइलगायत संस्थाका प्रतिनिधिहरूले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका गतिविधि तथा कार्यप्रगतिको समीक्षात्मक विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै, पालिकाअन्तर्गत कार्यरत विभिन्न वन समूह, कृषि सहकारी संस्था तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरूले समेत आफ्ना संस्था तथा गतिविधिबारे जानकारी गराएका थिए । अन्तरक्रियाका क्रममा आगामी दिनमा पालिका र सरोकारवाला संस्थाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीको आतिथ्यता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासन अधिकृत लक्ष्मीप्रसाद उपाध्यायको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र ढकालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.