हेटौंडा, भदौ १६ गते । हेटौँडा उपमहानगरपालिका–६ पुतली बजार क्षेत्रको सडकको दुरवस्थाप्रति सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष विशालराज महतले ध्यानाकर्षण गराएका छन्।

महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पुतली बजारको व्यस्त सडकको अवस्थाबारे प्रश्न उठाउँदै सडक निर्माण तथा मर्मतमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका हुन्।
उनले नागरिकले सडक कर, सवारीसाधन नवीकरण कर तथा पेट्रोलियम पदार्थमा लाग्ने करलगायतका विभिन्न शीर्षकमा नियमित रूपमा कर तिर्दै आए पनि नागरिकले दैनिक प्रयोग गर्ने सडकको अवस्था भने अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो गरेका छन्।

‘कर तिर्ने काम नागरिकको, सडक बनाउने कामचाहिँ कुन सरकारको?’ भन्दै महतले प्रश्न गरेका छन्। कर तिर्न केही ढिला हुँदा ठूलो जरिवाना तिर्नुपर्ने अवस्था रहे पनि नागरिकले प्रयोग गर्ने व्यस्त सडकको सुधारतर्फ भने पर्याप्त ध्यान नदिइएको उनको भनाइ छ।
उनले एउटै पिचमाथि पुनः पिच गर्न बजेट तथा ध्यान पुग्ने तर अत्यधिक आवतजावत हुने सडकलाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ प्राथमिकता नदिइएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पुतली बजार क्षेत्रको सडकको अवस्थाले दुर्घटनाको जोखिमसमेत बढाइरहेको उल्लेख गर्दै उनले सडकको तत्काल सुधार र व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
महतले कर संकलनमा तीनै तहका सरकार सक्रिय देखिए पनि सडक निर्माण तथा मर्मतका विषयमा भने तीनै तह मौनजस्तै देखिएको टिप्पणी गरेका छन्।
उनले सम्बन्धित तीनै तहका सरकारलाई नागरिकले तिरेको करको प्रतिफल सुरक्षित र व्यवस्थित सडकका रूपमा समेत अनुभव गर्न पाउने गरी आवश्यक पहल गर्न आग्रह गरेका छन्।













