भोटेकोशी बाढीमा ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला परेको प्रधानमन्त्री शाहको भनाइ

काठमाडौं, भदौ १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई युद्धस्तरमा अघि बढाइरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद प्रभावित नागरिकको जीवनरक्षाका लागि राज्य संयन्त्र परिचालन गरिएको उल्लेख गरेका छन्।

उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। राहत तथा उद्धारका लागि सो दिन थप ७२ सहित हालसम्म ३९४ उडान सञ्चालन भइसकेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। विद्युत् आयोजना क्षेत्रमा रहेका २७९ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको तथा रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको उनले उल्लेख गरेका छन्।

माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनालगायतका क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्रीको भनाइ छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगै चिनियाँ, भारतीय र कोरियन विशेषज्ञ टोलीले समेत समन्वयमा काम गरिरहेको जनाइएको छ।

बाढीका कारण घाइते भएका २६७ जनालाई उद्धार गरी उपचार भइरहेको र तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि चिकित्सकसहितको टोली परिचालन गरिएको पनि उनले उल्लेख गरेका छन्।

आर्थिक सहयोगतर्फ प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको जनाइएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्रीको भनाइ छ।

राहत व्यवस्थापनतर्फ रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको बताइएको छ।

प्रधानमन्त्री शाहका अनुसार भारत, चीनलगायत विभिन्न मुलुकबाट मानवीय तथा राहत सामग्री सहयोग प्राप्त भइरहेको छ। एसियाली विकास बैंक, विश्व बैंक, अमेरिका, अष्ट्रेलिया, स्विट्जरल्यान्डलगायतबाट आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको उनले बताएका छन्।

यसैबीच, बाढीका कारण अवरुद्ध भएको सञ्चार सेवा पुनः सञ्चालन गर्ने कामसमेत अघि बढाइएको छ। नेपाल टेलिकम र एनसेलका प्रभावित टावरमध्ये अधिकांश पुनः सञ्चालनमा आइसकेको तथा प्रभावित क्षेत्रमा २० वटा स्याटेलाइट फोन पठाइएको जनाइएको छ।

मुख्य सडकहरूमा क्षति पुगेपछि वैकल्पिक सडक सञ्चालनको प्रयास भइरहेको भए पनि भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो तथा कृष्णभीर क्षेत्रमा कटानका कारण केही सडकमा यातायात प्रभावित भएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीमा परी ७८१ जनाको शव फेला परेको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ। पहिचानमा सहयोग पुग्ने डीएनएलगायतका आधारहरू सुरक्षित राखेर मात्र पहिचान हुन नसकेका शव व्यवस्थापन गरिने प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा राष्ट्रिय एकता र सामूहिक प्रयासबाट संकटको सामना गर्न सकिने बताएका छन्। प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.