मनहरीमा विश्व बेपत्ता विरुद्धको दिवसमा दीप प्रज्वलन, बेपत्ता योद्धाको सम्झना

मनहरी, भदौ १४ गते । विश्व बेपत्ता विरुद्धको दिवसको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल मकवानपुरको आयोजनामा गाउँपालिकाको भवन परिसरमा कार्यक्रम भएको हो।

कार्यक्रममा बेपत्ता योद्धाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, पछिल्लो समय भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिक तथा विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक गर्न तथा उनीहरूका परिवारको उचित व्यवस्थापनका लागि राज्यलाई निरन्तर घचघच्याउने बताइन्। उनले बेपत्ता योद्धाका परिवार तथा यस अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

कार्यक्रममा मनहरी गाउँपालिकाका प्रशासन प्रमुख लक्ष्मी प्रसाद उपाध्याय र वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रीनको विशेष आतिथ्यता रहेको थियो।

सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल मकवानपुरका संयोजक फुलमाया थोकरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूर्यबहादुर गोलेले गरेका थिए।

कार्यक्रमले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न, उनीहरूका परिवारको न्याय तथा सम्मानजनक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउने सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.