रसुवा बाढीको छैटौँ दिनसम्म ११ हजार ३७९ जनाको उद्धार, ९३९ शव फेला : प्रधानमन्त्री शाह

काठमाडौं , भदौ १५ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बाढी आएको छैटौँ दिनसम्मको पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका प्रशंसनीय रहेको बताएका हुन्।

उनले विपद्को समयमा प्रदेश तथा स्थानीय सरकारले संघीय सरकारलाई दिएको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै मित्रराष्ट्र, स्वदेशी तथा विदेशी संघसंस्था, सञ्चारमाध्यम र अन्य सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्।

राहत व्यवस्थापनतर्फ, काठमाडौंल गायत देशका विभिन्न स्थानबाट संकलन भएका राहत सामग्री प्रभावित नागरिकसम्म पुर्‍याउने कार्य भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलिया लगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भएको उनले जानकारी दिएका छन्।

सुरक्षाकर्मीले हवाई तथा सडकमार्गबाट रसुवा, नुवाकोट र धादिङका चार संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्‍याएको जनाइएको छ।

त्यस्तै, आर्थिक सहयोगतर्फ प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार आज मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा भने ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले उल्लेख गरेका छन्।

उद्धार तथा उपचारतर्फ, बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्ने काम पनि अघि बढाइएको छ। नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको प्रधानमन्त्री शाहले बताएका छन्। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई सदरमुकामसँग पुनः सीधा सडक पहुँच स्थापित भएको छ।

पुलहरू भत्किएका कारण प्रभावित क्षेत्रमा आवागमनमा समस्या रहेकाले सरकारले अस्थायी पुल निर्माणलाई समेत प्राथमिकता दिएको छ। नेपालसँग रहेका बेलिब्रिजमध्ये विभिन्न स्थानमा जडान गर्ने विषयमा अध्ययन भइसकेको तथा भारतबाट २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको प्रधानमन्त्री शाहले बताएका छन्। भारतले थप सात वटा र चीनले ३० वटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिएका छन्।

विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनामा पनि प्रगति भएको छ। रसुवामा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको, नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भएको जनाइएको छ। बाँकी क्षेत्रमा पनि निर्धारित समयभित्र सेवा सञ्चालन गर्ने गरी काम भइरहेको छ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा बीटीएस र एनसेलका ७८ मध्ये ७५ वटा टावर पुनः सञ्चालनमा आएका छन्।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्। नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। रसुवागढी, मैलुङ खोला, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, त्रिशूली, सौर्य तथा देवीघाटलगायत आयोजनामा उद्धार तथा खोजी कार्य सञ्चालन भइरहेको छ। कतिपय आयोजनामा नेपाली सेनासँगै भारतीय, चिनियाँ र कोरियन उद्धार टोलीले समेत सहयोग गरिरहेका छन्।

शव व्यवस्थापनतर्फ हालसम्म ९३९ जनाको शव फेला परेको प्रधानमन्त्री शाहले बताएका छन्। पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको जनाइएको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने प्रक्रिया जारी रहेको छ।

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँ तथा चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको संकेत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय बलियो रूपमा उठाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

सरकारले अब पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु भइसकेको छ। घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएका नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउने दिशामा सरकार केन्द्रित हुने प्रधानमन्त्री शाहले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.