चितवन, भदौ १४ गते । त्रिशूली नदीमा आएको बाढीका कारण मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङ जिल्लाको कृष्णभीरमा सडक भासिएपछि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिन गएको हो। सडकको अवस्था जोखिमपूर्ण बनेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि आवागमन बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–काठमाडौं सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना मार्फत सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्गबाट यात्रा गर्न आग्रह गरिएको छ।
बाढी तथा पहिरोका कारण पछिल्लो समय त्रिशूली नदी आसपासका सडक तथा यातायात पूर्वाधारमा जोखिम बढ्दै गएको अवस्थामा प्रशासनले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै आवागमन बन्द गरेको जनाएको छ।















