मनहरी, भदौ १४ गते । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा सो क्षेत्रमा पुगेर हालसम्म सम्पर्कविहीन भएका मनहरी गाउँपालिकाका बासिन्दाको खोजी तथा उद्धारका लागि मनहरी गाउँपालिकाले महत्वपूर्ण निर्णय गरेको छ।
मनहरी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका गाउँपालिकाका नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। आवश्यक परे सम्बन्धित प्रभावित क्षेत्रमा टोली पठाई प्रत्यक्ष रूपमा खोजी कार्य अघि बढाउने तथा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए परीक्षण समेत गर्ने निर्णय बैठकले गरेको छ।
बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले १० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय समेत गरेको छ। विपद्को समयमा स्थानीय सरकार पीडित परिवारको साथमा रहेको सन्देश दिन उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, जनप्रतिनिधिबाट समेत व्यक्तिगत रूपमा सहयोग गर्ने निर्णय भएको छ। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो तीन महिनाको तलब सहयोग गर्ने भएका छन्। गाउँपालिका उपाध्यक्ष तथा सबै वडाध्यक्षहरूले भने एक–एक महिनाको तलब बराबरको रकम बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेका छन्।
बैठकले गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण संघसंस्था तथा सरोकारवालालाई आह्वान गरी आर्थिक तथा जिन्सी सामग्री संकलन गर्ने र संकलित सामग्री सम्बन्धित बाढी प्रभावित क्षेत्रमा पुर्याउने निर्णय समेत गरेको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा आफ्ना नागरिक समेत प्रभावित र बेपत्ता भएको अवस्थामा मनहरी गाउँपालिकाले स्थानीय तहको जिम्मेवारीलाई मानवीय संवेदनासँग जोड्दै खोजी, राहत तथा सहयोगका लागि विशेष पहल अघि बढाएको हो।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका सबै वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा अन्य जिम्मेवार व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बैठकबाट भएका निर्णयले बाढीबाट प्रभावित मनहरीवासीको खोजी, उद्धार तथा राहतमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, विपद्को समयमा स्थानीय सरकार, जनप्रतिनिधि, संघसंस्था तथा नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास गाउँपालिकाले लिएको छ।














