वर्षौंदेखिको डुबान समस्या समाधान, हेटौंडा–४ को स्कुलरोड फराकिलो र व्यवस्थित

हेटौंडा, भदौ १७ गते । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गतको स्कुलरोड क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको डुबान तथा ढल निकासको समस्या समाधान भएको छ। ढल निर्माण तथा सडक स्तरीकरणको काम सम्पन्न भएपछि सडकको आवतजावत सहज बनेको हो।

हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको जानकारीअनुसार आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा क्याम्पस तथा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरू लगायत हजारौँ नागरिक दैनिक आवतजावत गर्ने उक्त सडकमा विगतमा वर्षायाममा डुबानका कारण आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो।

वर्षौँदेखि ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षामै सडकमा पानी जम्ने र आवतजावत प्रभावित हुने समस्या रहेको वडाध्यक्ष सिग्देलले उल्लेख गरेका छन्।

समस्या समाधानका लागि हेटौंडा क्याम्पस, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयको परिसरबाट निस्कने पानीलाई व्यवस्थित ढलमार्फत स्कुलरोडको ढलमा निकास गर्ने गरी समन्वय गरिएको उनले बताएका छन्।

ढल निकासको व्यवस्था गर्नुका साथै सडक स्तरीकरणको कामसमेत सम्पन्न भएपछि अहिले उक्त क्षेत्रको डुबान समस्या हटेको र सडकसमेत फराकिलो तथा व्यवस्थित बनेको वडाध्यक्ष सिग्देलको भनाइ छ।

वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जालमा ‘नतिजा मैदानमा’ भन्दै कामको परिणाम सडकको अवस्थाले नै देखाइरहेको उल्लेख गरेका छन्। लामो समयदेखि स्थानीयवासी तथा विद्यार्थीले भोग्दै आएको समस्या समाधान भएपछि यस क्षेत्रको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.