‘विरोध गर्ने दिन दुई गाँस बढी खाना रुचोस्’ : हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको व्यंग्यात्मक सन्देश

हेटौंडा, साउन २२ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध भइरहेका आलोचना र सामाजिक सञ्जालमा फैलाइने गतिविधिप्रति व्यंग्यात्मक प्रतिक्रिया जनाएका छन्।

सिग्देलले वडाभित्रका सडकका साना खाल्डाखुल्डी तथा वर्षायाममा केही स्थानमा जमेको पानीको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर भाइरल हुने अवसर अब धेरै दिन नपाइने दाबी गरेका छन्। उनले विकास निर्माण तथा मर्मतसम्भारको काम तीव्र रूपमा भइरहेको उल्लेख गर्दै केही समयमै ती समस्या समाधान हुने बताएका छन्।

उनले आफ्नो स्टाटसमा आफूहरू जनप्रतिनिधिका रूपमा काममै केन्द्रित रहेको उल्लेख गर्दै, “हामी त तिमीले खरानी बनाएको पालिका, वडा र घरको खरानी पखालेर काम गरिरहेका छौं,” भन्ने अभिव्यक्ति प्रयोग गरेका छन्। उनले कामको परिणामले भ्रम र गलत प्रचार आफैं हट्दै जाने दाबी समेत गरेका छन्।

सिग्देलले सत्य अन्ततः स्थापित हुने विश्वास व्यक्त गर्दै हेटौंडा–४ मा रहेका पशुपति मन्दिर, गुम्बा, मस्जिद, प्रणामी मन्दिर, चर्च तथा अन्य धार्मिक स्थलहरूको स्मरण गरेका छन्। ती धार्मिकस्थलको आशीर्वाद, आफ्नो मातृपार्टीको साथ र वडाबासीको विश्वासकै कारण दुई पटक वडा अध्यक्षको जिम्मेवारी पाएको उल्लेख गर्दै त्यसको ऋण इमान्दारीपूर्वक तिरिरहेको बताएका छन्।

आफूप्रति नकारात्मक सोच राख्नेहरूलाई पनि उनले शुभकामना दिएका छन्। “विरोधका लागि विरोध गरेर कष्ट गर्नुहुने सबैलाई सधैं सुख, शान्ति र स्वास्थ्य प्राप्त होस्। विरोध गरेको दिन दुई गाँस बढी खाना रुचोस्,” भन्दै उनले आफ्नो स्टाटस टुंग्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.