हेटौंडा, साउन ३१ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले महिलाको जीवन, भावना र सपनालाई केन्द्रमा राख्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा व्यक्त गरेकी छिन्।

मेयर लामाले एउटी नारीले आफ्नो जीवनमा आफ्ना रहर, खुसी र सपनाहरू आफैंबाट हराउँदै गएको टुलुटुलु हेरेर जीवन बिताउनुपर्ने अवस्था हुनु दुःखद भएको उल्लेख गरेकी छिन्। उनले महिलालाई केवल छोरी, चेली, श्रीमती वा आमाको भूमिकामा मात्र सीमित नगरी उनीहरूको व्यक्तिगत इच्छा, भावना र सपनालाई पनि सम्मान गर्नुपर्ने बताएकी छिन्।
‘छोरी, चेली, श्रीमती, आमा धरती मात्रै होइन, आकाश पनि हुन्’ भन्दै मेयर लामाले महिलाको योगदान, क्षमता र अस्तित्वलाई सम्मान गर्नुपर्ने धारणा राखेकी छिन्।
उनले पुरुषलाई जस्तै महिलालाई पनि जीवनमा विभिन्न रहर जाग्ने, खुसी हुने तथा घाउ र पीडाले दुख्ने बताएकी छिन्। महिलाका भावना, चाहना र पीडालाई पनि पुरुषसरह बुझ्न तथा सम्मान गर्न आवश्यक रहेको उनको भनाइ छ।
मेयर लामाको उक्त अभिव्यक्तिले महिलालाई सामाजिक भूमिकामा मात्र सीमित नगरी उनीहरूको व्यक्तिगत सपना, रहर, खुसी र आत्मसम्मानलाई समेत प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।














