हेटौंडा, साउन २३ गते । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा २५ वर्षपछि फेरि मेसिन चल्न थालेका छन्। नेपाली सेनाको उत्पादन निर्देशनालयको टोलीले उद्योगमा रहेका पुराना मेसिनहरूको आवश्यक मर्मत तथा क्यालिब्रेसन गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो।

उद्योग पुनः सञ्चालनका लागि सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएपछि उत्पादन निर्देशनालयको टोली उद्योगमा खटिएको थियो। टोलीले लामो समयदेखि थन्किएका मेसिनको अवस्था परीक्षण गर्दै आवश्यक मर्मतसम्भार र क्यालिब्रेसन गरेपछि केही मेसिनबाट परीक्षण उत्पादन सुरु गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव रामनन्द सुवेदीले नेपाली सेनाको टोलीले उद्योगमा रहेका मेसिन मर्मत गरी परीक्षण उत्पादन सुरु गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले पनि शनिबार सामाजिक सञ्जालमार्फत उद्योगमा परीक्षण उत्पादन सुरु भएको जानकारी दिएका हुन्।

परियारले उद्योगमा लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खटखट’ आवाज सुनिन थालेको उल्लेख गरेका छन्।
उद्योगमा रहेका सबै मेसिनमध्ये पहिलो चरणमा १० वटा मेसिन सञ्चालन गर्ने योजना बनाइएको छ। केही मेसिन सञ्चालनमा आइसकेका छन् भने बाँकी मेसिन मर्मत तथा क्यालिब्रेसनको क्रममा छन्।

परीक्षण उत्पादनबाट पुराना मेसिनको वास्तविक अवस्था, उत्पादन क्षमता, आवश्यक मर्मत तथा उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने सम्भावनाको मूल्याङ्कन गरिनेछ। परीक्षण उत्पादन सम्पन्न भएपछि नेपाली सेनाको टोलीले आफ्नो कार्यविधिअनुसार उत्पादनको परिमाण, मेसिनको अवस्था, आवश्यक मर्मत तथा उद्योग सञ्चालनका सम्भावित ढाँचासहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ।
त्यसपछि उद्योग सञ्चालनसम्बन्धी आवश्यक निर्णय नेपाल सरकारले गर्नेछ। परीक्षण उत्पादन सफल भए उद्योगलाई कुन ढाँचा, कति क्षमता र कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले निर्णय लिनेछ। सबै मेसिन पूर्ण रूपमा सञ्चालनमा आएपछि उद्योगको औपचारिक पुनः उद्घाटन गर्ने तयारी समेत गरिएको छ।

२०५४ देखि उत्पादन बन्द
२०३३ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि औपचारिक रूपमा उत्पादन सुरु गरेको थियो। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले दैनिक करिब २८ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता राख्थ्यो।
एक समय नेपाली सेना, नेपाल प्रहरी तथा विभिन्न सरकारी निकायका लागि आवश्यक कपडा उत्पादनमा उद्योगको महत्वपूर्ण भूमिका थियो। तर समयसँगै उत्पादन घट्दै जानु, आर्थिक तथा व्यवस्थापकीय समस्या, पुरानो प्रविधि र बजारमा बढ्दो प्रतिस्पर्धाका कारण उद्योग संकटमा पर्दै गएको थियो।
उद्योगमा २०५४ सालदेखि उत्पादन बन्द भएको थियो भने त्यसको तीन वर्षपछि २०५७ सालमा उद्योग नै पूर्ण रूपमा बन्द भयो। त्यसयता उद्योगका भवन तथा करोडौँ मूल्यका मेसिनहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा थिए।
बन्द उद्योग पुनः सञ्चालन गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि पुराना मेसिनको अवस्था, दक्ष जनशक्तिको अभाव, उत्पादन लागत र बजार व्यवस्थापनलगायतका चुनौती प्रमुख मानिँदै आएका थिए। तर प्रारम्भिक परीक्षणमै मेसिन सञ्चालन गर्न सकिने अवस्था देखिएपछि उद्योग पुनः सञ्चालनको सम्भावना बलियो बनेको मन्त्रालयको बुझाइ छ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जाल मार्फत लामो समयदेखि बन्द, घाटामा रहेका तथा रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा पछिल्लो समय देखिएका सुधार र प्रगतिबारे जानकारी गराएका थिए। उनले हेटौंडा कपडा उद्योगसँगै दुग्ध विकास संस्थान, नेपाल औषधि लिमिटेड, नेपाल वायुसेवा निगम र सिंहदरबार वैद्यखानामा भएका सुधारका प्रयास तथा उपलब्धि प्रस्तुत गर्दै इमानदार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पूर्ण सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गरेका छन्।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा आउन सके स्वदेशमै कपडा उत्पादन वृद्धि हुनुका साथै रोजगारी सिर्जना, सरकारी निकायका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन र आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
परीक्षण उत्पादनको प्रतिवेदनपछि उद्योगको सञ्चालन ढाँचा र क्षमता निर्धारण हुनेछ। २५ वर्षदेखि मौन रहेका मेसिन फेरि चल्न थालेसँगै हेटौंडा कपडा उद्योगको पुनर्जागरणको सम्भावनाले भने नयाँ आशा जगाएको छ।














