हेटौंडाको सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला, हत्या आशंकामा प्रहरी अनुसन्धान तीव्र

हेटौंडा, साउन २२ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले हत्या भएको आशंकामा विस्तृत अनुसन्धान अघि बढाएको छ।

स्थानीयवासी च्याउ टिप्न जंगल गएको क्रममा सेतो बोराभित्र शव रहेको देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्रलाई सुरक्षित बनाएको थियो।

त्यसपछि थप अनुसन्धान तथा प्रमाण संकलनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा डग (K-9) तथा SOCO (Scene of Crime Officer) सहितको विशेष टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोरा खोलेर हेर्दा हालसम्म परिचय नखुलेकी अन्दाजी ३०–३२ वर्षीया महिलाको शव फेला परेको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ।

प्रहरीले घटनाको प्रकृति, शवको पहिचान तथा यस घटनामा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। प्रहरीले शवको पहिचान तथा घटनासम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.