सीता माविको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र पिटिए गठन

मनहरी, भदौ ११ गते । मनहरी गाउँपालिका–२, भुन्द्रुङ्टाँडीस्थित श्री सीता माध्यमिक विद्यालयको ४९औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ (पिटिए) गठन गरिएको छ ।

बुधबार सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ र शिक्षक–अभिभावक संघको अध्यक्षमा सूर्यबहादुर गोलेलाई सर्वसम्मत चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा सन्ध्या वाइबा, वीरबहादुर स्याङ्तान र विष्णुकुमारी जिम्बा चयन भएका छन् । त्यस्तै, शिक्षक–अभिभावक संघको सदस्यमा चमेलीमाया थिङ, ज्ञानबहादुर दोङ, विवि माया बल, दीपक ब्लोन, राजु थिङ र हिरामान बल चयन भएका छन् ।

भेलाले बाँकी सदस्यहरू बैठक मार्फत थप गर्दै ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति र ११ सदस्यीय शिक्षक–अभिभावक संघलाई पूर्णता दिने निर्णय समेत गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा अभिभावक र विद्यालयबीचको समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित नेतृत्वले विद्यालयको आगामी शैक्षिक तथा व्यवस्थापकीय गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.