हेटौँडा, भदौ ७ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्ला समय हेटौँडा क्षेत्रमा बढ्दै गएका हत्या, हिंसा, लागूऔषध प्रयोग, सवारी दुर्घटना तथा टोल–टोलमा हुने गुण्डागर्दीप्रति चिन्ता व्यक्त गरेका छन्।
वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै मानवीय हत्या, हिंसा, लागूऔषधको प्रयोग, सवारी तथा अन्य दुर्घटना र गुण्डागर्दीका कारण समाजमा असुरक्षा बढ्दै गएको बताएका हुन्। उनले पछिल्ला घटनाहरूले हेटौँडा सहरमा सुरक्षा चुनौती बढ्दै गएको तथ्य देखाएको उल्लेख गरेका छन्।
उनले लागूऔषधको प्रयोगले व्यक्ति मात्र नभई परिवार र समग्र समाजमा पार्ने नकारात्मक प्रभाव भयावह बन्दै गएको बताएका छन्। मानिस नै मानिसबाट प्रताडित हुने अवस्था अन्त्य गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ।
सिग्देलका अनुसार हेटौँडाका अधिकांश सडक स्तरीकरण भइसकेका छन्। केही सडकबाहेक विगतको तुलनामा अहिले खाल्डाखुल्डीको समस्या निकै कम भए पनि सवारी दुर्घटना भने बढिरहेको छ। विशेषगरी सडक स्तरीकरण भएका क्षेत्रमा समेत दुर्घटनाको संख्या बढिरहेको भन्दै उनले यसप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
उनले बढ्दो दुर्घटना, हिंसा, लागूऔषध र गुण्डागर्दीका कारण परिवार, समाज र समग्र हेटौँडा सहर असुरक्षित बन्दै गएको उल्लेख गर्दै ‘सुरक्षित हेटौँडा’ आजको प्रमुख सरोकार बन्नुपर्ने बताएका छन्।
मानवीय हत्या तथा हिंसाको अन्त्य, सवारी दुर्घटना न्यूनीकरण र सबैखाले गुण्डागर्दी नियन्त्रणका लागि सरोकारवाला सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। साथै, समस्या समाधानका लागि सम्बन्धित निकायले समेत आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ।














