युवा आवाज दबाउने होइन, प्रोत्साहन गर्नुपर्छ : विशालराज महत

हेटौँडा, भदौ ९ गते । ‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक समस्या, अनियमितता र बेथितिविरुद्ध आवाज उठाउने युवालाई निरुत्साहित गर्न नहुने बताएका छन्।

महतले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत युवा समाजको मेरुदण्ड रहेको उल्लेख गर्दै नागरिकका समस्या समाधान र सहजीकरणका लागि निरन्तर लागिपर्ने युवाहरू समाजका सम्पत्ति भएको बताएका हुन्।

केही दिनअघि हेटौँडा–१९ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा बालिकाहरूको ज्यान गएको दुःखद घटनाप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पुल निर्माण तथा सुरक्षित आवतजावतको व्यवस्था गर्न माग गर्दै आवाज उठाइरहेका युवाहरूलाई निरुत्साहित गर्ने वा दुःख दिने कार्य भएको जानकारी आउनु थप दुःखद भएको महतले बताएका छन्।

‘समस्या उठाउनु अपराध होइन, प्रश्न गर्नु गलत होइन,’ भन्दै महतले नागरिकको जीवन र सुरक्षाका लागि आवाज उठाउने युवालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्। युवाहरूभित्र रहेको सामाजिक भावना मर्न दिन नहुने उनको भनाइ छ।

सामाजिक भावना बोकेर सकारात्मक परिवर्तनका लागि अघि बढ्ने युवालाई एक्लो हुन नदिने स्पष्ट पार्दै महतले आशिष सुनुवार लगायत आवाज उठाइरहेका युवाको प्रयासमा आफ्नो साथ र समर्थन रहेको बताएका छन्।

न्याय र सकारात्मक परिवर्तनको यात्रामा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै महतले सामाजिक समस्याविरुद्ध र नागरिक सुरक्षाका पक्षमा उठ्ने आवाजलाई दबाउनेभन्दा सहजीकरण र समर्थन गर्नुपर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.