हेटौंडा, भदौ ४ गते। नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार बिहीबार थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापा मगरले एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनको दाबीमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख थियो।
यद्यपि, राप्रपाले थापा मगरलाई समर्थन गर्ने विषयमा पार्टीको आधिकारिक निर्णय नरहेको स्पष्ट पारेको थियो। राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने पार्टी निर्णयविपरीत प्रदेश संसदीय दलबाट समर्थन गरिएको भन्दै असहमति जनाएको थियो।
यसअघि बागमतीका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
किरण थापा मगरको नियुक्तिसँगै बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाको समर्थन दाबी गरिएको नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठन भएको छ। थापाले बिहीबार नै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।














