बकैयाको तीनतलेमा ‘बौद्ध बेम्बो कटेज एण्ड होटल’ सञ्चालनमा

बकैया,तीनतले, भदौ ५ गते । मकवानपुरको बकैया गाउँपालिका–५ स्थित तीनतलेमा ‘बौद्ध बेम्बो कटेज एण्ड होटल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले रिबन काटेर होटलको शुभारम्भ गरेका हुन्।

होटल उद्घाटन गर्दै उपाध्यक्ष खत्रीले सञ्चालक मिलन चौलागाईं र पासाङ तामाङलाई व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गरे। उनले स्थानीय युवालाई स्वदेशमै उद्यम र स्वरोजगारतर्फ आकर्षित गर्न यस्ता व्यवसायले महत्वपूर्ण भूमिका खेल्ने बताए।

स्थानीय उत्पादन, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने गरी होटल सञ्चालनमा ल्याइएको भन्दै उपाध्यक्ष खत्रीले स्थानीय सरकार आवश्यक साथ र सहयोगका लागि सदैव तयार रहेको प्रतिबद्धता जनाए। स्थानीय मूल्य, मान्यता र संस्कृतिलाई सम्मान गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिए।

होटलका सञ्चालक मिलन चौलागाईंका अनुसार होटल सञ्चालनका लागि गत भदौदेखि संरचना निर्माणको काम सुरु गरिएको थियो। करिब चार महिनाको अवधिमा संरचना निर्माण गरी होटललाई सञ्चालनमा ल्याइएको उनले बताए।

हाल होटललाई ‘फ्री–ओपनिङ’ मार्फत सञ्चालनमा ल्याइएको र केही समयपछि भव्य रूपमा ‘ग्रान्ड ओपनिङ’ गर्ने तयारी रहेको चौलागाईंले जानकारी दिए। उनका अनुसार हालसम्म होटल निर्माण तथा व्यवस्थापनमा करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ।

युवा जनशक्तिलाई विदेश जानबाट रोक्दै स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक चौलागाईंले बताए। आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ व्यवसाय सुरु गरिएको उनको भनाइ छ।

होटलमा पहिलो चरणमा १० देखि १५ जना कर्मचारीलाई रोजगारी दिइएको छ। आगामी दिनमा करिब १०० जना युवा जनशक्तिलाई स्वरोजगार तथा रोजगारीमा जोड्ने लक्ष्य रहेको चौलागाईंले बताए।

होटल बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। प्राकृतिक सुन्दरता र पहाडी भू–भागसँग जोडिएको स्थानमा सञ्चालनमा आएको होटलमा स्थानीय उत्पादनबाट तयार गरिएका परिकारसँगै शान्त र मनोरम वातावरणमा खान तथा बस्न सकिने सञ्चालकले बताएका छन्।

बकैया गाउँपालिकाको पर्यटन, स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित सञ्चालनमा आएको बौद्ध बेम्बो कटेज एण्ड होटलले आगामी दिनमा थप सेवा र सुविधा विस्तार गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.