काठमाडौं, भदौ ५ गते । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले यस वर्षको ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ का लागि सहभागिता आह्वान गरेको छ।
ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते भएको हेलिकप्टर दुर्घटनामा दिवंगत नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल कुमार सिंहको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार २०६४ सालदेखि निरन्तर प्रदान हुँदै आएको छ।
यस वर्ष पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। पुरस्कारका लागि २०८२ भदौ १ गतेदेखि २०८३ साउन मसान्तसम्म टेलिभिजनमा प्रसारण भएका जोखिमपूर्ण विषयवस्तु समेटिएका सामग्रीहरूलाई सहभागी गराइनेछ।
सहभागिताका लागि प्रसारण भएको सामग्रीको भिडियो क्लिप, त्यसको स्क्रिप्ट र प्रसारण मिति खुल्ने विवरणसहित सम्बन्धित टेलिभिजनको सिफारिस पत्र पेश गर्नुपर्नेछ। सामग्री नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको इमेल ntvfnj2077@gmail.com मा वा सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन, सिंहदरबारस्थित नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको कार्यालयमा भदौ ३० गतेसम्म आइपुग्ने गरी पठाउन आग्रह गरिएको छ।
विज्ञ समितिले छनोट गरेको उत्कृष्ट सामग्रीलाई आगामी असोज ७ गते विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने शाखाका सचिव विष्णुहरि कोइरालाले जानकारी दिएका छन्। पुरस्कार वितरण समारोह नेपाल टेलिभिजनका विभिन्न च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
थप जानकारीका लागि विष्णुहरि कोइराला ९८४१२२४९३८ र सुमन श्रेष्ठ ९८४११०५८७१ मा सम्पर्क गर्न सकिनेछ।















