रौतहट, साउन २१ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भई आगलागी भएको छ।
आज बिहान करिब ५:३० बजे अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार दुर्घटनापछि ट्यांकरमा तत्काल आगो लागेको भए पनि चालक सकुशल बाहिर निस्कन सफल भएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा आएसँगै थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समय उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो। हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














