चितवन, साउन १७ गते । लगातार सिमसिम वर्षा भइरहेका बेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधनको आवागमन सञ्चालनमा रहेको छ। सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ८:४५ बजेसम्म सडक पूर्ण रूपमा सञ्चालनमा रहे पनि पहिरोको जोखिम भने यथावत् रहेको छ।

सडक डिभिजनले दिएको जानकारीअनुसार पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक विभागले पहिरोग्रस्त स्थानहरूको पहिचान गरी विभिन्न संवेदनशील क्षेत्रमा अपरेटरसहितका हेभी मेसिन तथा उपकरण तैनाथ अवस्थामा राखेको छ। आवश्यकता परे तत्काल सडक खुलाउन तयारी अवस्थामा जनशक्ति र उपकरण परिचालन गरिने जनाइएको छ।
त्यसैगरी, सिमलताल क्षेत्रमा सामान्य लेदो बगिरहेको भए पनि हालसम्म सवारी आवागमनमा कुनै अवरोध सिर्जना भएको छैन। यद्यपि निरन्तर वर्षाका कारण जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।
सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न, मौसम तथा ट्राफिकसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।













