काठमाडौं/टोकियो, साउन २० गते । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ सम्पन्न भएको छ। सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी व्यवस्थापनदेखि वैदेशिक शाखामा आबद्ध पत्रकारहरूको संस्थागत अधिकारसम्म समेटिएका ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा महासंघका सबै वैदेशिक शाखा (युरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत) को सहआयोजना एवं नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा गत जुलाई २५ मा सम्मेलन सम्पन्न भएको हो।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा महासंघका पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, सातै प्रदेशका अध्यक्ष, तीन जिल्ला शाखाका अध्यक्ष, जापान शाखाका पदाधिकारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सरकारसँग प्रेसमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ। सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग व्यापक परामर्श गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, बिमा तथा अन्य श्रमिक अधिकार तत्काल सुनिश्चित गर्न सरकार र सञ्चार संस्थाहरूलाई ध्यानाकर्षण गराइएको छ।
त्यसैगरी सूचना तथा सञ्चार प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिएका चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न पनि सरकार र सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
सम्मेलनले विदेशमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्द्धनमा सक्रिय पत्रकारहरूको योगदानको उच्च मूल्यांकन गर्दै वैदेशिक शाखामा आबद्ध सदस्यलाई नेपाल पत्रकार महासंघको विधान संशोधनमार्फत चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ।
वैदेशिक शाखाहरूको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक संरचनामा पुनर्संरचना गर्दै वैदेशिक प्रदेश तथा महादेशगत संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, वैदेशिक शाखाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधनको पहल गरिने उल्लेख गरिएको छ।
प्रवासी पत्रकारले आर्जन गरेको आधुनिक प्रविधि, ज्ञान, अनुसन्धान अनुभव र सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न वैदेशिक शाखालाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता सम्मेलनले व्यक्त गरेको छ। गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक संविधानले प्रत्याभूत गरेका अन्य अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
घोषणापत्रमा महासंघसँग आबद्ध वैदेशिक शाखा तथा सहकार्य गर्ने संस्थाका सदस्यहरूको मूल सदस्यता निरन्तर कायम राख्ने, शाखा स्थापना हुन नसकेका मुलुकमा डिजिटल माध्यमबाट सदस्यता व्यवस्थापन गर्ने आधुनिक प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
यस्तै, विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।
सम्मेलन सफल बनाउन सहयोग गर्ने जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए), विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संघसंस्था, सञ्चार संस्था तथा सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै सम्मेलन सफल बनाउन योगदान पुर्याएको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष, कार्यसमिति, सदस्य, स्वयंसेवक तथा सहयोगी सबैप्रति धन्यवाद र सम्मान व्यक्त गरिएको छ।
घोषणापत्र !














