हेटौँडा, साउन २१ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय हेटौँडामा भइरहेका रहस्यमय हत्या तथा लागू औषधसँग सम्बन्धित घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले हेटौँडामा केही समययता रहस्यमय हत्या प्रकरणहरू बढ्दै गएको तथा लागू औषध कारोबार र प्रयोगसँग सम्बन्धित घटनामा प्रहरीद्वारा दिनहुँ व्यक्तिहरू पक्राउ परिरहेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्।
उनले खुला रूपमा मात्र होइन, लुकिछिपी हुने लागू औषध कारोबार अझ व्यापक हुन सक्ने संकेत गर्दै यसको प्रभावकारी नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
वडाध्यक्ष सिग्देलले अबको प्राथमिकता “सुरक्षित हेटौँडा” र “लागू औषध नियन्त्रित हेटौँडा” हुनुपर्नेमा जोड दिएका छन्। उनले स्थानीय सरकार, सुरक्षा निकाय, अभिभावक, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकबीचको समन्वय र सक्रिय सहभागिताबिना लागू औषध नियन्त्रण तथा अपराध न्यूनीकरण सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
उनले समाजमा बढ्दै गइरहेका आपराधिक गतिविधि नियन्त्रणका लागि समयमै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै हरेक नागरिकले सचेत र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
वडाध्यक्ष सिग्देलको भनाइले हेटौँडामा बढ्दो सुरक्षा चुनौती र लागू औषध नियन्त्रणका विषयमा सार्वजनिक बहसलाई थप बल पुर्याएको छ।














