काठमाडौं, साउन १५ गते । श्रम संस्कृति पार्टीले सुनसरीको देवानगञ्जबाट सुरु भई सिराहा लगायतका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक हिंसाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सत्य गुरुद्वारा जारी प्रेस विज्ञप्तिमा हिंसात्मक घटनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिमा गम्भीर असर पुर्याएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्जका जयप्रकाश मेहता र ओमप्रकाश मेहता तथा सिराहाको गोलबजारका गणेश यादवको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
पार्टीले साम्प्रदायिक हिंसा वा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट कुनै पनि समाज वा राष्ट्रले दिगो शान्ति, समृद्धि र एकता हासिल गर्न नसकेको उल्लेख गर्दै हिंसाबाट गरिबी, धनजनको क्षति, सामाजिक विखण्डन र आपसी अविश्वास मात्र बढ्ने जनाएको छ।
विज्ञप्तिमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी भाइचारा र राष्ट्रिय एकतालाई नेपाली समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सबै राजनीतिक दल, सामाजिक संघसंस्था, बौद्धिक समुदाय, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
श्रम संस्कृति पार्टीले सम्पूर्ण नागरिकलाई संयम, धैर्य र आपसी सद्भाव कायम राख्न अपिल गर्दै अफवाह, उत्तेजनात्मक अभिव्यक्ति तथा साम्प्रदायिक बैमनस्य फैलाउने गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ। साथै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सम्बन्धित निकायहरूले प्रभावकारी, निष्पक्ष र कानुनसम्मत ढंगले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ।















